ताजा अपडेट »

कोभिड-१९ भइसकेकालाई कम्तीमा ६ महिना पुनः संक्रमण सम्भावना न्यून

शनिबार, ०७ चैत्र २०७७, ०७ : ३७
10 Shares

काठमाडौँ । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ।  

अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट ८० प्रतिशतले सुरक्षित हुने तर ६५ वर्ष उमेरमाथिका ४७ प्रतिशत मात्र सुरक्षित रहने देखाएको छ।  

डेनमार्कको स्टेटन्स सेरम इन्स्टिच्युट, कोपेनहेगन विश्वविद्यालय र स्विडेनमा रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गरेको उक्त अध्ययनले संक्रमण भएको ६ महिनापछि सुरक्षाको स्तर घट्ने प्रमाण नभेटिएको देखाएको छ। अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ।

‘यो अध्ययनले भाइरसबाट संक्रमित भइसकेका वृद्धहरूले खोप लगाउनुपर्ने देखाएको छ,’ उक्त जर्नलद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ। यसअघि भएका अध्ययनले पनि संक्रमित भइसकेकाहरू कम्तीमा ६ महिनासम्म सुरक्षित रहने देखाएका थिए तर यो अध्ययनले सुरक्षाको समग्र स्तर राम्रो रहेको र यो सुरक्षा उमेर समूहअनुसार फरकफरक हुने देखाएको छ। यो समाचार आजको नारिक दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।