ताजा अपडेट »

तिनाउ करिडोरको साइड क्लियरेन्स गराउँदै तिलोत्तमा

आइतबार, १६ फागुन २०७७, १२ : ३१
8 Shares

तिलोत्तमा । तिनाउ करिडोरको राइट अफ वे (क्षेत्राधिकार) अनुसार तिलोत्तमा नगरपालिकामा पर्ने भू-भागको साइड क्लियरेन्स गराउन नापजाँच तथा रेखाङ्गकन कार्य गरिएको छ । तिलोत्तमा नगरपालिकाले सडक डिभिजन कार्यालयसँगको परामर्शको आधारमा आफ्ना प्राविधिक मार्फत् नापजाँच तथा रेखाङ्गकन गरेको हो ।

करिडोर निर्माणको कामलाई छिटो अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले साइड क्लियरेन्स गराउन नापजाँच तथा रेखाङ्गकन गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । रेखाङ्गकन कार्यको संयोजन गर्नुभएका कार्यपालिका सदस्य एच.बि. रम्तेलले हालसम्म ७५ प्रतिशत कार्य सकिएको जानकारी दिनुभयो । नदीको वहावलाई आधार मानेर करिडोरको राइट अफ वे निर्धारण गरी पिल्लर गाँडेर रेखाङ्गकन गरिएको उनले बताए । निर्माण कार्य अघि बढाउँदा जग्गा विवाद नआओस् भन्ने उद्देश्यले नगरपालिकाले पहिले नैं साइड क्लियरेन्स गराउन थालेको उनको भनाइ छ । तिनाउ र दानव नदी किनारमा दुई लेनको सडक निर्माण अगाडि बढाइएसँगै तिलोत्तमाले आफ्नो क्षेत्रमा साइड क्लियरेन्स गराउन थालेको हो ।

४ अर्ब १३ करोड लागतको तिनाउ–दानव नदी करिडोरको डिपिआरअनुसार लम्बाइ ५० किलोमिटर रहेको छ । करिडोर निर्माणको गत मंसिर १० गते अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभएको थियो । रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउन थालेको सडकको दुवै करिडोरमा एकसाथ काम सुरु गर्न चालु आर्थिक वर्षका लागि बजेट विनियोजन समेत भैसकेको छ । दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ ।

तिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०-१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने गरी डीपीआर बनेको जनाइएको छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको दुवैतर्फ गरी साढे ८ र दानव नदीको साढे ३ किमीका लागि ठेक्का लागेको छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ । रिभर रुट निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

जसमा ५० किलोमिटर सडक निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिक जामको दीर्घकालीन समाधान गर्न मात्र नभई यी ‘रिभर रूट’ पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुनेछ । यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत बढ्नेछ । तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्य पर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्यसमेत छ । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।

तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा सडक निर्माणपछि रुपन्देहीको पर्यटन विकासमा समेत टेवा पुग्ने छ । पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख र दानव करिडोरमा १९ करोड ४२ लाखको ठेक्का सम्झौता भएको बताइएको छ ।

https://www.globalaawaj.com/archives/74721
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।