ताजा अपडेट »

शुद्धोधनमा सम्पूर्ण जातिसहितको ‘मगर एकता दिवस’

शुक्रबार, १४ फागुन २०७७, १७ : ११
10 Shares

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा स्थानीयले जातीय एकता र पर्यटन प्रवर्द्धनलाई टेवा पुग्नेगरी मेला आयोजना गरेका छन् । सुद्धोधन मगर संघको आयोजनामा वडा नम्बर-५ मानपकडीमा रहेको कोटिमाई मन्दिर प्राङ्गणमा ३ दिने रमाइलो मेला सञ्चालन गरेका हुन् ।

३९ औं मगर एकता दिवसको अवसरमा मगर संघ सुद्धोधन गाउँपालिकाले विविध साँस्कृतिक कार्यक्रम, खेलकूद प्रतियोगिता, मगर तथा थारु समुदायका परिकारहरुका साथै बाल उद्दानहरुसहितको मेला आयोजना गरेको हो । सुद्धोधनलाई पर्यटकीय क्षेत्रमा विकास गर्दै सम्पूर्ण सम्पूर्ण जातजातीहरु बीचको एकता कायम गर्नका लागि मगर एकता दिवसको अवसरमा पहिलो पटक मेला आयोजना गरिएको कार्यक्रम संयोजक मोतिबहादुर थापाले जानकारी गराए । कोभिड–१९ को महामारीले यो वर्ष हरेक ठाउँका मेला महोत्सवहरु स्थगित भएको बेला जनजीवन सामान्यतर्फ उन्मुख भएको महशुस गराउन मेलाले सहयोग गर्ने मगर संघ सुद्धोधनका सचिव मानबहादुर थापाले विश्वास व्यक्त गरे ।

विगतका वर्षहरुमा सामान्य रुपमा मगर एकता दिवस तथा फागुन १५ मनाउँदै आएको संघले कार्यक्रमलाई परिमार्जित गरी सँस्कृतिको जगेर्ना तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेगरी स्थानीयहरुको पहलमा मेला आयोजना गरिएको मगर संघ जिल्ला सदस्य मानबहादुर बुढाथोकीले बताए । स्थानीय ऐतिहासिक कोटिमाई मन्दिरको संरक्षण तथा प्रचार प्रसारमा टेवा पुग्नेगरी मन्दिर प्राङ्गणमा आयोजना गरिएको मेलाले स्थानीयले आर्थिक लाभ लिन सक्ने आयोजकको अपेक्षा रहेको छ ।

मेलामा गाउँपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार हुने खेल संयोजक मोतिबहादुर थापाले जानकारी दिए । यसैगरी साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीइ कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक रवि रानाले जानकारी दिए । मेला शनिबारसम्म सञ्चालन हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।