ताजा अपडेट »

सुद्धोधनमा मगर एकता दिवसको अवसर पारी रमाईलो मेला

विहीबार, १३ फागुन २०७७, २२ : ३८
4 Shares

बुटवल । नेपाल मगर संघ शुद्धोन गाउँपालिकाको आयोजनामा विहिबारदेखि रमाईलो मेला सुरु भएको छ । ३९ औं मगर एकता दिवसको अवसरमा सुद्धोधन-५ मानपकडीको कोटहीमाइ मन्दिर दरबहवाको प्राङ्गणमा आयोजित मेलाको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले परेवा उडाएर उद्घाटन गरे ।

उद्घाटनका अवसरमा बोल्दै चौधरीले एकताको दिवस मनाउने मगर समुदायको एकमात्र परम्परालाई जोगाई राख्न र सम्पूर्ण आदिवासी जनजातिको अधिकारका लागि सबै एक ठाउँमा उभिन आह्वान गरे । लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले मगरहरु र थारु समुदायमा शिक्षाको कमीकमजोरीका कारण पिछडिएको बताउँदै सरकारले यी समुदायहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । यस्तै गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै मेलाले एकता झल्काएको बताए ।

तीन दिनसम्म चल्ने मेलामा विभिन्न खेलकूद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम तथा बाल उद्यानहरु समेत सञ्चालनमा आएका छन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुतीका साथै मगर परम्पराका विभिन्न परिकारहरु चाख्न पाइने संघका सदस्य रवि रानाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।