ताजा अपडेट »

चलचित्र ‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक (भिडीयो)

मंगलबार, ०१ जेठ २०८१, २२ : २५
170 Shares
मंगलबार, ०१ जेठ २०८१
170 Shares

काठमाडौं । यही जेठ १० गते विश्वभर एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’ मा समावेश ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम र पीडालाई देखाइएको छ ।

त्यसैगरी गीतमा मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यहरुमा अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्यालाई मूल स्थान दिइएको छ ।

‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको कुरा दर्शाएको छ । यसअघि चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक गरिएको थियो । यो गीतमा दुःखका भावना व्यक्त गरिएको छ ।

बी पाण्डेले शब्द रचना गरेको यस गीतमा केतन क्षेत्रीको स्वर रहेको छ । पाण्डेका शब्दमा निर्माता सुवास भुसालले सङ्गीत भरेका छन् । करिब २ सय गीत रचना गरेका पाण्डेले भुसालकै सङ्गीत र दिनेश राउतकै निर्देशनमा बनेको ‘प्रसाद’मा ‘बनकी चरी के भन्छ’ र चलचित्र ‘सेल्फी किङ’को लागि भुसालकै सङ्गीतमा ‘जाली रुमाल’ बोलका गीत रचना गरेका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।