ताजा अपडेट »

मर्मतका लागि विद्युत् आयोजना बन्द

शुक्रबार, ०९ माघ २०७७, १३ : ०८
6 Shares

सिमकोट । मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द गर्न लागिएको हो ।

सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्रमुख एडीले भने, “माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”

सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताए । उनका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका विद्युत् सेवा पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक कम्तीमा ११ घण्टा विद्युत्भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

कोरोना सङ्क्रमितमुक्त हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ। यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो। एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।

गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि जिल्ला बाहिर काठमाडौँ लगिएको छ । महिलाको भने कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी घर फिर्ता भई साथै हुल्ला कोरोनामुक्त बनेको छ ।

लामो समय कोरोना सङ्क्रमणका हिसाबले ग्रिनजोनका रुपमा रहेको हुम्लामा गत असोजयता ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल सङ्क्रमित सङ्ख्या शून्यमा झरेको हो । गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

रासस
लेखकको बारेमा
रासस