ताजा अपडेट »

संविधानप्रतिको निष्ठा कायम रहोस्

शनिबार, ०३ असोज २०७७, ०८ : ००
14 Shares

असोज ३ गते अर्थात् संविधान दिवस । नेपालको सातौं संविधान जारी भएको दिन, संविधान दिवस मनाइँदै आइएको छ । वि.सं. २०७२ असोज ३ गते तत्कालिन राष्ट्रपति डाः रामवरण यादवद्वारा जारी संविधान नेपालको पछिल्लो संविधान हो । ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको यस संविधान सम्पूर्ण नेपाली जनताको समृद्धिको सपना साकार गर्ने यूगको संविधान हो । देशको मूल कानून, संविधान लागू भएको महत्वपूर्ण दिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ ।

सार्वभौमसत्ता सम्पन्न नेपालीका लागि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई केन्द्रीत गरी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै निर्माण तथा जारी गरिएको भनिएको संविधान हाल कार्यान्वयनमा रहेको छ । संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयतासहितका आधुनिक मानव अधिकार तथा नागरिक अधिकार उल्लेख गरिएका छन् । जनताका लागि यो ठूलो राजनीतिक उपलब्धि हो र शासन प्रणालीको हिसाबले नेपाल उन्नत, विकसित देशकै जस्तो प्रणाली हामीले अपनाएका छौं । यस संविधानले शक्ति पृथकीकरणको मूल्य र मान्यतालाई स्वीकार गरी शासन व्यवस्थालाई दिगो, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्य बोकेको देखिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी भएतापनि व्यवहारिक कार्यान्वयनमा भने चूनौती रहेको छ । संविधान देशको मूल कानून मात्रै होइन । यसलाई आत्म मानिन्छ । जसमा जनताको भावना, चाहाना, अधिकार, सार्वभौम सबै उल्लेख मात्रै होइन । आधारभूत आवश्यकता र सुरक्षाको ग्यारेन्टी रहन्छ । आधारभूत आवश्यकताको परिपूर्ति,सुरक्षाको प्रत्याभूतिर न्यायको अनुभूति संवैधानिक अधिकार र विशेष्तामा मात्रै होइन प्रतक्ष्य जीवन र व्यवहारमा प्रयोग भए मात्रै संविधानको सार्थकता रहन्छ । वि.सं.२००४ सालमा राणाकालिन समयमा बनेको पहिलो संविधानसँगै संवैधानिक यात्रा भएको मुलुकमा वि.सं. २००७, २०१५, २०१९, २०४७, २०६३ मा विभिन्न शिर्षकमा मूल कानून बने । विभिन्न व्यवस्था र समयमा बनेका ती मूल कानून पश्चात् संघीय व्यवस्थाको संविधान, नेपालको संविधान-२०७२ को ५ वर्ष बितिसकेका छन् । शनिबार मुलुकभर छैटौं संविधान दिवस मनाइँदैछ ।

संघीय प्रणालीलाई संस्थागत गर्न महत्वपूर्ण कडी बनेको संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको गणतान्त्रिक संविधानले विश्वका प्रजातान्त्रिक संविधानहरूमा उल्लेख भएका सबैजसो नागरिक हक, अधिकारलाई मात्र राखेको छैन, इतिहासमा पहिलोपटक नागरिकका दायित्वलाई समेत समावेश गरेको छ । २०७२ असोज ३ गतेदेखि लागू भएको नेपालको संविधान नेपाली राजनीतिक इतिहासमा एउटा ऐतिहासिक महत्व र अर्थ राख्ने विषय भएकाले पनि नेपाली जनताले परिवर्तनको वाहक संविधान दिवसलाई आमूल परिवर्तनसँग जोडेर मनाउने गरेका छन् । संविधान विधानका लागि मात्रै बनाइएको नभई मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रगति, सुधार र परिवर्तनको आभास दिन बनाइएकाले सरकार र राजनीतिक पार्टीले सोहीअनुसार आफूलाई केन्द्रित गर्नैपर्दछ । यस अर्थमा संविधान दिवस मनाएको सार हुन्छ ।

सुशासन, विकास, उन्नत्ति, प्रगति, बेरोगजारीको समाधान, सुरक्षा, सुविधा, पारदर्शितासहितको शासन नै हो आम नेपालीको चाहना हो । संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सहितका आधुनिक मानव अधिकार उल्लेख गरिएका छन् । जनताका लागि यो ठूलो राजनीतिक उपलब्धि हो र शासन प्रणालीको हिसाबले नेपाल उन्नत, विकसित देशकै जस्तो प्रणाली हामीले अपनाएका छौं । संविधानको कार्यदिशामा लोकतान्त्रिक समाज र समृद्ध राष्ट्र निर्माण प्रष्ट लेखिएको छ । लोकतान्त्रिक मूल्य मान्यतालाई बचाएर समाजवादी आर्थिक बाटोमा मुलुक अघि बढ्न आवश्यक छ।

संविधान दिवस मनाइँ रहँदा यसको आदर्श,संवैधानिक सरकारको प्रत्याभूति, गणतान्त्रिक पद्धति संवैधानिक स्वतन्त्रता,संवैधानिक प्रणाली लगाएतका आधारहरुको व्यवहारिक अनुभूति भएका छन् वा छैन भन्ने सवालमा पनि गम्भीर हुन आवश्यक छ । विश्वव्यापी कोरोनाका कारण नेपालमा पनि परेको गम्भीर समस्या र महामारीक बीच परेको संविधान दिवस मनाइँ रहँदा संविधानप्रति सबैले उच्च सम्मान गर्दै यसको कार्यान्वयनको लागि सबैले आ-आफ्नो तर्फबाट प्रयास र पहल गरौं । संविधानप्रतिको निष्ठा नै संविधान कार्यान्वयनको आधार र सम्मान हो । संविधान प्रतिको निष्ठाले स्वच्छ प्रशासनको परिकल्पना गरी सरकारको स्वेच्छाचारी शक्तिको प्रयोगमा नियन्त्रण लगाउँदै नागरिक अधिकारको सुनिश्चितता प्रदान गर्दछ । कानूनी र राजनीतिक स्वरूपमा मिश्रित संविधानवादको संयोजनद्वारा वास्तविक संविधानवादको प्रत्याभूति गर्न सकिन्छ । संविधान दिवसको अवसरमा सम्पूर्णमा शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।