ताजा अपडेट »

चित्र कोर्ने प्यासनलाई प्रोफेशन बनाएका विष्णु

सोमबार, २२ भदौ २०७७, १९ : ३०
144 Shares

बुटवल । ओम आर्ट, जहाँ कला सम्बन्धी कामहरु हुन्छन् , बुटवल ट्राफिकचोक स्थित ओम आर्टमा डिजिटल प्रिण्ट सम्बन्धी अधिकांश कामहरु हुन्छन् । धेरैले डिजिटल प्रिन्टका रुपमा चिनेको ओम आर्टमा हस्तकलाका विभिन्न सिर्जनाहरु पनि देख्न पाइन्छ । डिजिटल तथा व्यवसायी स्थानमा मनमोहक हस्तद्वारा निर्मित चित्रहरु देख्दा सबैमा जिज्ञासा उब्जिन्छ । र, सोध्ने गर्दछन् ‘यो कसले बनाएको ? प्रतिउत्तरमा सो आर्टका सञ्चालक भन्छन्, मैले हो ।’ उनी हुन् चित्रकार विष्णु सुवेदी ।सानैदेखिको रुचि र दृढ इच्छालाई आधुनिकशैलीबाट व्यवसाय बनाएका उनले रङ्गहरुद्वारा आकृति बनाउने आफ्नो रहरलाई निरन्तरता दिँदै डिजिटलाइजेशनमा समेत छुट्टै पहिचान बनाएका छन् । विशेषगरी प्राकृतिक सुन्दरतालाई आफ्नो हातद्वारा चित्रमा उतार्ने उनी प्रकृतिप्रेमी पनि हुन् । उनका तस्विरमा उनकै सिर्जनामा वा कुनै स्थानको प्राकृतिक सुन्दरता झल्किन्छ ।

कम्प्यूटर डिजाइनदेखि प्रिण्टसम्मका काम हुने उनको व्यसाय छ । जहाँ दैनिक सयौं प्रिण्टका काम हुन्छन् । निकै व्यस्तसँगै राम्रो आम्दानी हुने व्यसाय भएतापनि समय निकालेर उनी चित्र कोर्ने गर्छन् । कोरोना कहरका कारण गत चैतदेखि लकडाउन भयो । धेरैलाई लकडाउन केहि समय परिवारसँग बिताउने, रमाइलो गर्ने अवसर बन्यो । त्यसपछि अधिकांशलाई समय बिताउन पनि निकै जटिल बन्यो । धेरैले समय कटाउने विभिन्न बहाना खोजे तर, उनलाई भने लकडाउन थप अवसर बन्यो । चित्र कोर्नका लागि पहिले भन्दा लकडाउन अवधीमा धेरै समय मिल्यो ।

बुटवल तथा आसपासका हरियाली पहाडको आकृति तयार पार्दै गरेको बताउँदै उनले जति आकर्षक तस्विर तयार पार्नु छ त्यति नै एकान्त र सुनसान आवश्यक ठान्छन् । आफूलाई चित्र कोर्न जान्ने लागेपछि नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको तस्विरबाट यसैलाई पेशा–व्यवसाय बनाए । उनले हालसम्म सबै भन्दा महङ्गो ३५ हजारमा हातले कोरेका तस्विर बिक्री गर्न सफल भएको बताए । विभिन्न प्रतियोगिताहरुमा समेत आफ्ना चित्रहरु सहभागी गराउने गरेका उनले थुप्रै पुरस्कार तथा शिल्ड प्रमाण-पत्रहरु प्राप्त गरिसकेका छन्। आफूलाई चित्र कोर्न जान्ने लागेपछि नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको तस्विरबाट यसैलाई पेशा-व्यवसाय बनाए ।

हाल बुटवल-६ ट्राफिक चोकम रहेको उनको पसलमा अहिले ८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । हस्तकलालाई जगेर्ना गर्नुपर्नेमा जोँड दिँदै उनले यस क्षेत्रमा लाग्नेहरुका लागि राज्यले खासै केही गर्न सकेको जस्तो लाग्दैन । फुर्सदको समय मिल्यो कि रङ्गहरुको जोड-घटाउ गरेर आकृति तयार गर्न विष्णु सुवेदीलाई सार्है आनन्द आउँछ । नारायणी गण्डकी माध्यमिक विद्यालयबाट २०४९ सालमा उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेर बुटवल बहुमुखी क्याम्पसबाट आईए पास गरे । बुटवलमा रहँदा बस्दा दिदी रेश्मा आचार्यको विष्णुलाई साथ र सहयोग मिल्यो । कक्षा ८ देखि नै उनले आर्टस् गर्ने पेन्टिङ्ग गर्ने काम गर्थे । पछि उनी स्नातक पढ्ने रहर पालेर काठमाठौं छिरे । सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भएका थिए ।

त्यही क्रममा बाँच्ने आधार फेरि आर्टसलाई नै बनाए । टेकूमा रहेको न्यू आर्टसमा तीन वर्ष आफ्नो कूची र ब्रुशलाई मज्जाले माझ्ने काम गरे । ब्यानर र साइनबोर्ड लेख्ने मात्र होइन पेन्टिङ्गका थुप्रै काम गरे विष्णुले । सोही पेसामा रहेर बागबजारको श्याम एण्ड श्याममा समेत जीवनका महत्वपूर्ण पाँच वर्ष बिताए । ललितकला क्याम्पसबाट ललितकलामा नै स्नातक गर्ने रहर अधुरो नै रह्यो । त्यो रहर पूरा गर्न नसकेकोमा अहिलेसम्म उनलाई उस्तै पीडा र पछुतो छ । काठमाडौंमा उनले साधना आर्टस् सुरु गरेका थिए । करीव दुईवर्ष सञ्चालन समेत गरे ।

देशमा चलेको द्वन्द्वका कारण आफ्नो खाइपिई आएको पेसालाई छाडेर उनी कतारको दोहा हान्निए। त्यहाँ उनले संयोगले आर्टस् कै काम समेत पाए । वि.स. २०६३ सालमा बुटवलको ट्राफिकचोकमा ऊँ आर्ट स्टूडियो खोलेका थिए । त्यतिखेर यस क्षेत्रमा त्यस्ता खालका स्टुडियो नभएका भने होइनन् । अन्यले भन्दा फरक र स्तरीय सेवा प्रदान गरी डेढ लाख लगानीमा उनले सुरु गरेको स्टुडियो अहिले करिवब दुई करोडको लगानीमा पुगेको विष्णुले बताए । ग्राफिक्स डिजाइनका साथै हस्तकलामा समेत दख्खल राख्ने उनले हालसम्म सय बढी आफ्ना हातले कोरेका तस्विरहरु विक्रि गरेको उनले बताए ।

उनले हालसम्म सबै भन्दा महङ्गो ३५ हजारमा हातले कोरेका तस्विर बिक्री गर्न सफल भएको बताए । पछिल्लो समय प्रविधिको विकासँगै आएको डिजिटल प्रविधिले हस्तकलाको महत्वलाई छायाँमा पारे पनि यसको दिर्घकालिन भविष्य रहनेमा उनी विश्वस्त छन् । डिजिटल प्रविधिमा जति छिटो परिवर्तन र परिमार्जित भएर प्रविधिहरुलाई परिस्कृत गर्नुपर्छ त्यसको तुलनामा हस्तकला एक प्राकृत देन जस्तै भएको हुँदा त्यस खालको अस्वस्थ प्रतिष्पर्धा नहुने उनको बुझाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।