ताजा अपडेट »

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

आइतबार, ०७ भदौ २०७७, १५ : ५७
6 Shares

काठमाडौं । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ । त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरुप दैनिक ५०० यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए । उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ ।

सरकारी निर्णयअनुरुप पिसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पिसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ । “सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागिपरेका छौँ, सोमबार या मङ्गलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ”, सह–प्रवक्ता पौडेलले भने । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन् । सह–प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइडबडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन् ।

पिसिआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ । चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ । सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउने गरी सम्बन्धित मुलुक र गन्तव्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको राससलाई जानकारी दिए । “भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउँछौँ ।” उनले भने ।

सरकारले पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गर्ने निर्णय गरेको छ । पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन । यी मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइने छ । सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ ।

यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौँमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पिसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने छ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नु पर्छ । यस्तै पिसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने जनाइएको छ । पिसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा सङ्क्रमण फैलिने जोखिम रहेकाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गरिनेछ ।

बन्दाबन्दीको पाँच महिनापछि नियमित उडान शुरु हुन लागेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । तत्कालीन परिस्थितिमा सङ्क्रमण दर कमभएको आँकलन गरी विज्ञहरुको सुझावमा सरकारले भदौँ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने घोषणा गरेको थियो । तथापि, राजधानी काठमाडौँसहित देशभर कोभिड–१९ का सङ्क्रमित बढेपछि सरकारले पुनः भदौँ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो । विदेशमा अलपत्र नेपालीको उद्धार तथा अत्यावश्यक यात्रुका लागि उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को भदौ ४ गतेसम्मको विवरणअनुसार विभिन्न देशबाट उद्धार उडानमार्फत नेपाल फिर्ता भएका नेपालीको सङ्ख्या ५१ हजार ९८७ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्

चार्डर्ड उडानको तालिका आउँदै
भदौ १६ देखि शुरु हुने नियमित उडान अगाडि अर्थात आगामी भदौ १५ र त्यसपछि नियमित उडानको समयमा पनि पिसीआर सहज नभएका मुलुकबाट चार्टर्ड उडान हुने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चाटएर्ड उडान हुन लागेको हो । नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्काउनेछन् ।

नेपाल एयरलाइन्सले उद्धार उडानको तालिका बनाइरहेको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु जुहारचनले आज साँझसम्म चार्टर्ड उडानको तालिका बन्ने जानकारी दिए । यस्तै हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडानको तालिका बनाउने छ । पर्यटन मन्त्रालयको अनुमतिमा चार्टर्ड उडान तालिका बनाइने छ । कुन मुलुकबाट कति सङ्ख्यामा चार्टर्ड उडान गर्ने भन्ने टुङ्गो लागेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।