ताजा अपडेट »

रोल्पा घटना छानबिन गर्न पौडेलको नेतृत्वमा संसदीय विशेष समिति गठन

सोमबार, २६ जेठ २०७७, २३ : १६
6 Shares

बुटवल । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको छानबिन गर्न सङ्घीय संसद्ले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका लागि ‘चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी गराए ।

प्रतिनिधिसभाको बैठकमा पटकपटक प्रश्न उठेको उक्त घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आफूले सदनलाई जानकारी गराइसकेको र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सो समिति गठन गरिएको सभामुख सापकोटाले बताए । समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गरेर लागू गर्न सक्नेछ ।

सो समितिले आवश्यक ठानेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण गर्न सक्ने छ । समितिका अन्य कार्यविधि प्रतिनिसिभा नियमावली, २०७५ अनुसार हुनेछ भने समितिको समयावधि ३० दिनको तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।