ताजा अपडेट »

नर्सको कर्मलाई नर्मल नठानौं

शुक्रबार, ०५ बैशाख २०७७, १७ : ०५
12 Shares

देशमा अहिले करिव लाख बढी नर्सहरु नर्सिङ्ग पेसामा आवद्ध छन् । अनमी,स्टाफ नर्स,बिएन्,एम्एन् श्रेणीमा विभाजित नर्सहरुले देशका सुगमदेखि दुर्गमबस्तीहरुमा अस्पतालदेखि स्वास्थ्यचौकीमा रहेर स्वास्थ्य सेवा दिदै आएका छन् ।नर्सहरुले यतिबेला देशमा रहेका करिव ३० हजार डाक्टर र सोभन्दा बढी संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग मिलेर कोरोना नियन्त्रण र उपचारमा पहिलो घेरामा नै रहेर सक्रिय एवम् सार्थक रुपले क्रियाशील छन् ।

नर्स विरामीसँगको नजिकै रहेर केयर गर्ने पहिलो स्वास्थ्यकर्मी हुन् । नर्सले विरामीसँगको सामीप्यता वा सामाजिक दूरीलाई आफ्नै तरिकाले कायम गरेका हुन्छन् । विरामीको हरपीडा र उसको ओखतीपानीमा आफूलाई समाहित गर्ने भनेकै नर्स हुन् । महिलाको प्रसव वेदनाको साक्षी बन्ने मात्र होइन उनीहरुका पीडामा साथ दिने भनेकै नर्सले हो । सालनालको व्यवस्थापनदेखि बच्चाबच्चीको केयर गर्ने सेविका भनेकै नर्स हुन् । नर्सले सुत्केरीको स्वास्थ्यमात्र होइन , खानपान, पौष्टिकता, सूईखोप,सरसफाइ र स्तनपानमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।


नर्स बन्नु कसैको रहर हुन्छ भने कसैको आवश्यकता र वाध्यता पनि । पछिल्लो पटक नर्स बनेर विदेशमा थप अध्ययन गर्न सहज हुने र वैदेशिक रोजगारको ढोका समेत खुल्ने भएको हुँदा नर्स पढ्नेहरुको घुइँचो देखिन्छ । त्यतिमात्र होइन नर्स पढेकी छोरीको विहे पनि सजिलै हुने र उनैको सर्टिफिकेटलाई भजएर विदेश यात्रा गर्ने लाइसेन्स समेत बनेको छ । के नर्स पढेर वैदेशिक रोजगार सिर्जना गर्नु नै उत्तम कार्य हो ? के नर्स पढेर वा नर्स बनेर नेपालकै स्वास्थ्य संस्थाहरुमा विरामीको स्याहार सुसार गर्न सम्भव छैन ?नर्सिङ्ग पेसाप्रति पहिले जमानामा अलि नराम्रो सोचाई र दृष्टिकोण थियो । भनिन्थ्यो–छोरी बिग्री नर्सले छोरा बिग्रियो कमर्शले । तर आज यी दुबै पेसा वा विषय हाम्रा समाजमा उत्तिकै सम्मानित र प्रतिष्ठित बन्दै आएका छन् ।

यतिबेला कोरोनाले संसारभर डर,त्रास फैलाएको छ । मानवजातिमा मृत्युको मुख्य कारक बनेर महामारीका रुपमा कोरोना विषाणु हामीबीच आइपुगेको बेला हाम्रो देशमा केही घटनाहरु घटिरहेका छन् । स्वास्थ्यकर्मीमध्येमा पनि अझ् बढी नर्सहरुलाई घरका मानिसहरुले रोगको घर ठान्ने,घरबेटीहरुले घरबाट निस्कन दबाब दिने,पानीका धाराहरु छुन नदिने,एउटै ट्वाईलेट, बाथरुम प्रयोग गर्न नदिने र आफू कार्यरत् सवास्थ्य संस्थामा जान नदिई घरमै बस्नका लागि घरपरिवारले दबाब दिने र अस्पताल वा स्वास्थ्य केन्द्रबाट घर वा डेरामा आइपुग्दा विभिन्न किसिमका आरोपहरु खेप्नुपर्ने र घृणाको व्यवहार गरिदै आएको दुर्भाग्यपूर्ण समाचारले हामी नर्सहरु दुखी छौं । खेदप्रकट गर्दछौं ।

कोरोना विरुद्धको संघर्षमा पहिलो घेरामा रहने नर्सहरुलाई हेला वा शंकाको घेरामा राख्नु र घरबाटै निस्किुन पर्ने दिन आएमा यो पेसाप्रतिको आकर्षण वा जिम्मेवारी कस्तो रहला ? नर्सको नियति कस्तो होला ? नर्स नभएमा अस्पताल वा स्वास्थ्य केन्द्रहरु कसरी चल्छन् ? विरामीलाई स्याहार सुसार कस्ले गर्ला र ओखतीपानी कसले खुवाउलान् ? नर्सको नजरमा सबै विरामीहरु समान हुन् । विभेदहीन रुपमा उनीहरुलाई उपचारसँगै निको पार्नका निम्ति महत्वपूर्ण हात नर्सकै हुने गर्छ । नर्स नर्भस भएमा कसरी हुन्छ स्वास्थ्यमा प्रगति र उन्नति ! नर्मल नठानौं नर्सका कर्महरुलाई । नहेपौं नर्सिङ्ग पेसालाई ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।