ताजा अपडेट »

लक्षण नै नदेखिने समस्याले कोरोना संक्रमितको संख्या बढ्दै

आइतबार, २३ चैत्र २०७६, १० : ४५
8 Shares

काठमाडौं । डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार सुरुवातका चरणमा कोरोनाका लक्षण नदेखिएका विरामीका कारण यो महामारीलाई नियन्त्रण गर्न अप्ठ्यारो पर्ने देखिएको छ । डब्लुएचओका अनुसार जुन विरामीहरुमा सुरुवाती चरणमा संक्रमणको कुनै लक्षण देखिंदैन, यस्ता बिरामीहरुलाई ‘असिम्प्टोमेटिक’ अर्थात विना लक्षणका बिरामी भनिन्छ । रोचक पक्ष त के छ भनें विश्वभरमा यसप्रकारका असिम्प्टोमेटिक केस जति पनि देखा परेका छन्, तिनमा युवाको संख्या धेरै छ । संक्रमणको तेस्रो साता पछि एकै पटक ‘हस्पिटलाइज्ड’ हुन पुगेका विरामीहरुले सुरुवाती दिनमा संक्रमणको लक्षण थाहा नपाएको बताएपछि यो अध्ययन सुरु भएको थियो ।

के हो ‘असिम्प्टोमेटिक’ ?

सामान्यतया संक्रमित व्यक्तिमा दुई देखि तीन दिनमा कोभिड १९ को लक्षण देखिन थाल्छ । जस्तै, ज्वरो आउने, फ्लू हुने, चिसो (रुघाखोकी) हुने, शरिरमा पीडा हुने, श्वासप्रश्वासमा समस्या आउने हुन्छ । ३ देखि ५ दिनसम्म यी लक्षणहरु अलिक बढ्छन् । पाँचदेखि १० दिनमा श्वासप्रश्वास लिनमा अझै समस्या हुन थाल्छ । निमोनियाका लक्षण देखिन थाल्छन् । तर, जो ‘असिम्प्टोमेटिक’ अर्थात् बिना लक्षणका बिरामी हुन्छन् । उनीहरुमा संक्रमण भएपछि पनि कुनै लक्षण देखा पर्दैन । सामान्य मानिसहरु जसरी उनीहरुको दिनचर्या चल्छ, न त उनीहरुलाई ज्वरो आउँछ, आइहाले पनि कम मात्रामा आउँछ, आएको ज्वरो पनि आफैं ठिक भइहाल्छ । रुघा–खोकी वा श्वासप्रश्वास जस्ता समस्या नै आउँदैन । यस्ता मानिसहरुमा कोभिड १९ को लक्षण देखा पर्न दुईदेखि तीन सातासम्म लाग्नेछ । जति बेला संक्रमणको संकेत थाहा पाइन्छ, त्यसबेला खतरा एकदमै बढिसकेको हुन्छ । त्यसैले ‘असिम्प्टोमेटिक’का कारण मानवजातीलाई अझै धेरै खतरा रहेको विज्ञहरु बताउँछन् ।

लक्षण नदेखिनुका कारण

विना लक्षणवाला संक्रमित धेरै जसो युवा र बालवालिका पाइएका छन् । ‘डब्लुएचओ’का अनुसार यसो हुनुको कारण उनीहरुको ‘इम्युन सिस्टम’ राम्रो र बलियो भएकाले हो । भाइरस उनीहरुको शरिरमा प्रवेश गरेपनि उनीहरुको सक्षम ‘इम्युन सिस्टम’ले भाइरस विरुद्ध लडिरहेको हुन्छ । त्यही कारण उनीहरुमा कोरोना संक्रमण देखा पर्न ढिलाई हुन्छ । त्यस्तै उनीहरु मानिसहरुसँग भेट्ने, मिल्ने गर्छन् । घरमा आरामले बस्छन् । यस बखत दोस्रो व्यक्तिमा भाइरस छिटो फैलिन जान्छ । यस्तो केश सबैभन्दा बढी युवाहरुमा देखिनुको कारण उनीहरुमा ‘इम्यून सिस्टम’ बृद्धा अथवा बच्चामा भन्दा धेरै हुन्छ । त्यसैले जब भाइरस शरिरमा प्रवेश गर्छ तर उसको ‘इम्यून सिस्टम’ले भाइरससँग ‘फाइट’ गर्न सक्छ । त्यसैले लक्षण देख्नमा समय लाग्ने हुन्छ ।

कुन देशमा कति छन् ‘असिम्प्टोमेटिक’ केस ?

‘डब्लुएचओ’का अनुसार ३० प्रतिशत बिरामीमा सुरुवाती चरणमा एउटा पनि लक्षण देखिएन, जसले गर्दा विश्वभर महामारीका रुपमा यो रोग डरलाग्दो ढंगले बिस्तारित हुन पुग्यो । ‘डब्लुएचओ’द्वारा पहिलो पटक चीनमा गरिएको अध्ययनले ‘असिम्प्टोमेटिक’ अर्थात् बिना लक्षणका बिरामीको अवस्था देखेर अधिकारीहरु हैरान भएका थिए । त्यसबेला कोरोना संक्रमणका जति पनि बिरामी थिए, त्यसमा १ देखि ३ प्रतिशत ‘असिम्प्टोमेटिक’ थिए । जुन बिरामीहरुलाई कोरोना संक्रमित घोषित गरिनुपूर्व संक्रमणका कुनै लक्षण देखिएको थिएन । साउथ चाइना मर्निङ पोष्टले गत बुधबार प्रकाशित गरेको रिपोर्टमा यसप्रकारका बिरामीको संख्या ३० प्रतिशत पुगेको उल्लेख गरेको छ । यसप्रकारका विरामी अमेरिकामा २० प्रतिशत रहेको पछिल्लो तथ्यांकले अमेरिकी अधिकारीहरु पनि चिन्तित भएका छन् ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसीपी) का अनुसार अमेरिकामा यस्तो प्रकारका केश २० प्रतिशत देखा परिसकेको छ र अझै बढ्ने सम्भावना देखिएको छ । सीएनएन, फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्ट अनुसार सबैभन्दा धेरै जापानमा ३० दशमलब ८ प्रतिशत, इटालीमा ३० प्रतिशत, इरानमा २० प्रतिशत, स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत पोजेटिभ केस ‘असिम्प्टोमेटिक’ छन् । लक्षण नै नदेखिएपछि मानिस आफ्नै किसिमको रुटिनमा व्यस्त रहने साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहने भएकाले कोरोनाको फैलावट तिब्र गतिमा हुनसक्ने देखिन्छ ।

‘डब्लुएचओ’को चीन अध्ययन

‘असिम्प्टोमेटिक केश’मा लक्षण देखा पर्न तीन सातासम्म लाग्ने भन्दै साउथ चाइना मर्निङ्को अध्ययन भन्छः हुबेई प्रान्तमा कोरोनाका ९० हजार भन्दा बढी संक्रमित ‘केस’हरु देखा परिसकेका छन् । ती मध्ये ४३ हजार मानिसमा ‘फेब्रुअरी’को अन्त्यसम्ममा कोरोनाको कुनै लक्षण देखा परेको थिएन । यदी थिए भने पनि नभए बराबर थियो । पछि यी मध्ये २० हजार मानिसमा कोरोना ‘पोजेटिभ’ पाइयो । ती मानिसहरुमा दुईदेखि तीन सातामा सामान्य लक्षण देखिन शुरु भएको थियो । उनीहरु त्यस अघिसम्म पूर्णस्वस्थ व्यक्तिकारुपमा जीवनयापन गरिरहेका थिए । कोरोना संदिग्ध व्यक्तिलाई १५ दिनसम्म क्वारेन्टाइनमा राखिनुको कारण यसबाट प्रष्टिन्छ ।

दक्षिण कोरिया रणनीति

दक्षिण कोरियामा हालसम्म ९ हजार संक्रमित पाइएका छन् । ५ करोड जनसंख्या भएको यो मुलुकले अहिलेसम्म ४ लाख भन्दा बढी मानिसको कोरोना परीक्षण गरिसकेको छ । दक्षिण कोरियाली सरकारले सबैलाई शंकास्पद ठानेर परीक्षण सुरु गरेको हो । अर्थात् कोरोना संक्रमणका लक्षण देखिएकालाई मात्र होइन, केहीनै नभएका नागरिकलाई समेत परीक्षण गर्ने रणनीति अनुरुप सरकार अघि बढेको छ । ‘असिम्प्टोमेटिक केस’ को हकमा पनि यो प्रकृया अनुरुपको परीक्षणले साथ दिने कोरियाली सरकारको बुझाई छ । ‘डब्लुएचओ’को अध्ययन अनुसार यहाँ पनि २० प्रतिशत यस्ता मानिसमा कोरोना ‘पोजेटिभ’ देखिएको छ । लक्षण नै नदेखिएका २० प्रतिशतमा पोजेटिभ पाइएपछि त्यहाँको सरकार अचम्मित भएको छ ।

परीक्षण नगर्ने मुलुकहरुको हकमा

नेपाल जस्तो मुलुकमा त यसप्रकारले आम नागरिकमा परीक्षण गर्ने भन्ने सरकारले सोचेको पनि छैन । यहाँ लक्षण देखिएकाहरुलाई परीक्षण गर्ने किटको नै अभाव रहेको विज्ञहरुको भनाई छ । नेपालको मात्र होइन अमेरिका, बेलायत र इटालीजस्ता विकसित मुलुकले समेत कोरोना लक्षण नदेखिएकाहरुको परीक्षण गरेका छैनन् । अर्थात् आम नागरिकको कोरोना परीक्षणबारे त्यहाँ सोचिएको छैन । विशेषज्ञहरुले यिनै रिपोर्टलाई आधार बनाउदै भनेका छन्, यी यस्तै लापरवाहीका कारणले गर्दा अमेरिका, इटाली र बेलायतमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएको हो । कोरोनालाई नियन्त्रणमा ल्याउने हो भने कोरोना परीक्षण जति सकिन्छ, उति धेरैमा गरिनुपर्छ ।- एजेन्सीको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।