ताजा अपडेट »

सहकारीका सारथी

विहीबार, २० चैत्र २०७६, १९ : ००
32 Shares

एउटी सहकारी अभियन्ताको जीवन भोगाई र भविष्यको अभियान

उमेरले दुई बीसे सात टेक्दै गर्दा २०७६ को पौष महिनामा उनले आधुनिक नामको डेबिड नाती पाइन् । नाती पाएरपनि उनलाई खेलाएर बस्ने फुर्सद छैन । उनी सहकारीकी व्यवस्थापक छन् अहिले । छोरा सुजन र बुहारी प्रतिमाले विहे गरेको पनि चारवर्ष भो । सुजन भारतीय आर्मीमा भर्ना भएर अहिले गोरखपुरमा सर्भिस गरिरहेको छ । छोराबुहारी नै सहारा हुने छन् भविष्यमा ।आफूले २० वर्षको उमेरमा शेरबहादुर बरालसँग बिहे गरेता पनि अचेल उनी साथमा छैनन् । श्रीमानको कुरा गरि हालियो भनेपनि भन्छिन्–माम्री लागेको घाउ नकोट्याएकै जाती ! आँखामा आफ्नै नानी बिझाउन थालेपछि जीवनको के कुरा गर्नु र भन्दैथिइन् –विहेमा गरिएका बाचाबन्धनहरुले पखेटा हालेपछि अतीतका कुरा मनमा खेलाएर समय बिताउनु बेकार छ । उनी माइतीघरकी माईली छोरी हुन् । दाइभाइ पाँचजना अनि दिदीबहिनी तीनजना । उनी जन्मिएको २ वर्षमै सबै परिवार पर्वतको नौनादीबाट २०३२/२०३३ सालतिर रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका –११ मन्द्राहनीमा बसाइँ सर्न आइपुग्यो । विहेपछि उनलाई माइतीघर रहरको पिङ् जस्तै भयो ।

२०५४ सालमा गाउँमै २६ जना दिदीबहिनी मिलाएर नेतृत्व गर्दै खोलेकी थिइन् आर्थिक उन्नतिका लागि प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था । सोही सहकारीमा अहिले दुई हजार पाँच सय बढी दिदीबहिनीहरु शेयरधनी छन् । देशकै नमूना महिला सहकारी बनाउने अभियानका मुख्य अभियन्ता समेत हुन् उनी । अर्थात् उनी हुन् – सहकारी आन्दोलनकी हस्ती जमुना गिरी । नेपालको सहकारी आन्दोलनको ६३ वर्षे इतिहासमा २३ वर्षको सहकारी अनुभव मिसाएकी छन् उनले समेत । रुपन्देहीको तिलोत्तमा नपाको वडा नं. १० बेवरीको आफ्नै भवनमा सञ्चालन गरेको सो सहकारीले जिल्लादेखि राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ । यस क्षेत्रका बासिन्दाहरुका लागि आर्थिक समृद्धिको आधार बनेको छ ।

सुरुमा १० रुपैयाँ जम्मा गर्नेहरुले सहकारीमा अचेल एकसयदेखि एकहजार रुपैयाँसम्म वचत गर्दै आएका छन् । बालवचतमा ५ रुपैयाँदेखि १०० रुपैयाँसम्म जम्मा गर्नेहरु छन् । नवदुल्ही प्रवेश वचत योजना ,नवशिशु बचत(न्वारान गरेकै दिन) योजना तथा ज्येष्ठ नागरिक वचत योजना समेत ल्याएर उनको सहकारीले रुपन्देही क्षेत्रमा नै तहल्का मच्चाएको छ । जमुना लगायतका साथीहरुले सो सहकारी गठन गर्दाका पीडा र संघर्षको कथा सुनिरहन मन लाग्छ । साँच्चिकै उनीहरुका कथालाई पटकथा जोडेर लेख्ने नै हो भने एउटा घघ्डान फिल्म बन्ने छ । जसको नायिका बन्ने छिन् जमुना । रुपडाल हेर्दा पनि नायिका बन्न कुनै कुराले छेक्ने छैन उनलाई ।

हुन त उनले आफ्नो श्रीमानलाई नायक बनाइ सकेकी छन् पर्दामा तर उनको जीवनको खास यात्रामा नायक बन्न भने सकेनन् । बदलिएको मनोविज्ञान र फेरिएको श्रीमानको दैनिकीले गर्दा सँगै रहने र जीवन काट्न आँखाभरि सङ्गलाएिका केही सीमित सपनाहरु आँखा झिम्क्याउँदा नै किचिए।
समयले उनलाई सोही सहकारीको व्यवस्थापक बनाएको छ । ६ जना साथीहरु सहकारीमा सेवाको भावले समर्पित छन् । सहकारीको प्रशासनिक एवम् आर्थिक पक्षको नेतृत्व जमुनाले लिएकी छन् भने अध्यक्षको रुपमा सीता न्यौपाने,उपाध्यायले नेतृत्व गरेकी छन् । तिलोत्तमा नपाको शिवपुर नजिकै कुमारी गाउँमा बस्दै आएकी जमुना सहकारीका माध्यमबाट उद्यमशीलता खोजि रहेकी छन् । उनको सहकारीले उद्यम गर्ने महिलाहरुलाई बिनाधितो तीनलाख र धितो राखेर १० लाखसम्म कर्जा दिने गरेको छ । जमुनाले गाउँमा महिलाहरुलाई आर्थिक समृद्धिका लागि सशक्तिकरण गरेकी छन् । नेतृत्व,दक्षता र क्षमता अभिवृद्धिका लागि सहकारी सञ्चालकहरुलाई हातेमालो गरी अघि बढाइ रहेकी छन् । सहकारीमा संघर्ष गर्दै सन्तोषको श्वास फेरेकी छन् ।


कार्यालय समय बाहेक पनि उनी आफ्ना सहकारी सदस्यहरुका घरदैलामा पुग्छिन् । दुःखसुखमा साथ दिन्छिन् । उनको तर्क छ –महिलाहरुलाई सबैभन्दा बढी चाहिने अधिकार भनेकै आर्थिक अधिकारसहितको अन्य अधिकार हो । हामी समृद्धिको अभियानमा रही रहँदा महिलाहरुलाई अग्रस्थानमा राखेर सहकारीका माध्यमबाट जान सकिएमा मात्रै देशमा समृद्धिको मुहार देख्न सकिने छ । जमुनापछि सहकारीको अध्यक्ष भएकी थिइन् पार्वती खत्री । उनी अहिले तिलोत्तमा नपा वडा नं.११ को महुबारीमा सफल उद्यमीका रुपमा छन् । व्यवसायिक गाईपालन,खेतीपाती,ट्रयाक्टर र माईक्रोबसका मालिक समेत भएकी छन् । स्थानीयहरुलाई रोजगार दिएकी छन् भने सन्तानहरुलाई सुविधा सम्पन्न शिक्षालयमा पढाइरहेकी छन् ।


त्यसैगरी स्थानीय सरकारका वडासदस्य समेत रहेकी लक्ष्मी विकले सुन पसल राखेकी छन् । सामुहिक व्यवसायिक तरकारी खेती गरेकी छन् । रोजगार दिएकी छन् । यी सबै उनकै सहकारीले दिएको कर्जाले सम्भव भएको हो । उनीहरुलाई उद्यम गर्न हौशला दिने,समय अनुसारको तालिममा सहभागी गराउने र आवश्यक प्राविधिक सहयोग दिने काममा जमुना अग्रस्थानमा रहेकी छन्
उनका पचासौं सहकारी सदस्यहरुले कृषि,पशुपालन तथा आयआर्जन- कार्यक्रममा सहभागी भएर आर्थिक उन्नतिका क्रियाकलाप गरेका छन् । उद्यमी बनेर आर्थिक लाभ लिएका छन् । आँट बढाएर आत्मनिर्भर भएका छन् । वर्तमानमा जमुना सहकारीका सारथि भएकी छन् । माहुरीका रानो भएकी छन् । आर्थिक विकासका अभियन्ता भएकी छन् । सहकारीकै माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने उनको विश्वास छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।