ताजा अपडेट »

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

आइतबार, १६ चैत्र २०७६, ०७ : ४८
8 Shares

बुटवल । विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।

विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उनले बताए । केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ । कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उनले बताए ।

कोरोना भाइरस सङ्क्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन्। उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका परिचित र आफन्त सबैलाई सम्पर्कमा आइदिन प्रहरीले आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिहरू सवार विमानको फ्लाइट नम्बर तथा विमानमा सवार यात्रुको पहिचान भए पनि राहदानी लिएको जिल्ला र फोन नम्बर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो । उहाँका अनुसार राहदानी एक जिल्लाबाट र बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो । कतार एयरको क्युएआर ६५२ विमानमा सवार १५८ मध्ये १०९ जना ४० जिल्लाका छन् । तीमध्ये एक फ्रेन्च, दुई जर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन्, खोजी भइरहेको छ ।

त्यस्तै तेस्रो सङ्क्रमित व्यक्ति सवार एयर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका १७० जना यात्रुको पनि खोजी जारी रारिएको प्रवक्ता जोशीले बताउनुभयो । सो कार्यमा प्रहरीको केन्द्रीय हेल्थ हेल्प डेस्क नै परिचालन गरिएको छ । उहाँहरूको राहदानीका आधारमा ठेगाना पत्ता लगाई सम्पर्कमा ल्याउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको छ । चैत ४ गतेपछि नेपाल भित्रिएका सम्पूर्ण नागरिकको विवरण सङ्कलन गरी सम्पर्कमा ल्याउन हेल्प डेस्क मात्र नभई सिङ्गो प्रहरी सङ्गठन सक्रिय छ, उनले बताए ।

सङ्क्रमित यात्रु सवार विमानका अन्य यात्रुहरू पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी
विभागबाट विस्तृत विवरण सङ्कलन गरिरहेको छ । चैत पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको अवधिसम्म नेपाल फर्किएका सबैलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।