ताजा अपडेट »

सकारात्मक एवम् सही सन्देशले नै साँचो रुपमा कोरोनाबाट बचाउने छ

सोमबार, १० चैत्र २०७६, १८ : ५५
20 Shares

वर्तमान समयमा कोरोनाले नागरिकहरु नेपालमा हतास र त्रसित छन् । देशका मुख्य सहरमा बस्दै तथा परदेशबाट आएका नागरिकहरु सीधै गाउँघरमा पुगेका छन् । सुरुआती समयमा उनीहरुलाई कुनै पनि खालका स्वास्थ्य परीक्षण नगरी सीधै गाउँघरमा पठाइएका छन् । गाउँमा झन् स्वास्थ्य सेवाको अभाव छ । सहरिया वा परदेशिका नागरिकहरु गाउँमा आए भनेर उनीहरुलाई भेट्न वा देख्न आउनेहरुको उसै घुँइचो लागेको कुरा सुन्नमा आएका छन् । साँचो हो भने त्यो झन् हानिकारक हुने छ ।

शहरमा अस्पताल, नर्सिङ्ग होम तथा स्वास्थ्य क्लिनिकहरुका सेवा सुविधाहरु पाउन सकिन्छ । ती केन्द्रहरुमा डाक्टरहरु भेटिन्छन् र उपचार सक्दो रुपमा सहज हुन सक्नेछ । कोभिड-१९ महामारीको रुपमा फैलिएकोले सबैले सावधानी अपनाउनु पर्ने देखिन्छ । यो रोग लागेर मर्नेको संख्या दिनप्रतिदिन बढेको छ । आज विश्वलाई यही कोरोनाले तर्साएको छ । हुन त यो रोगका संक्रमित मध्ये २ वा ३ प्रतिशत्ले मात्र ज्यान गुमाएका छन् । तैपनि यो रोगले आतंक नै मच्चाएको पाइन्छ । विकसित देशमा समेत नियन्त्रण हुन सकस भएको यो रोग नेपालमा भित्रियो भने भयावह स्थिति फैलिन सक्छ भनेर स्वास्थ्य विज्ञहरुले भनिरहँदा सरकारले समेत समयमै सचेतनामूलक कार्यक्रमहरु मात्र होइन हदैसम्मको नियन्त्रणका विधिहरु अपनाइ रहेको पाउन सकिन्छ । सरकारको अनुरोध हामी नागरिकहरुकै निम्ति हो भन्ने सन्देशलाई सबै नागरिकले ग्रहण गर्नुपर्ने देखिन्छ ।

कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नै यसका म्युकसबाट अरुलाई सर्ने भएको हुँदा त्यस्ता ब्यक्तिबाट टाढा रहनू पर्ने देखिन्छ । त्यस्ता संक्रमित व्यक्तिका नाकबाट निस्किएका पानीका ससाना थोपाहरु, म्यूकस नै रोग सर्ने सजिला माध्यम हुन् । त्यस्ता संक्रमित ब्यक्तिका पानीका थोपा वा म्यूकसहरु स्वस्थ व्यक्तिका नाक, मुख, कान वा अनुहारमा पुगेपछि सजिलै रोगी बनाउन सक्ने देखिन्छ । हुन त स्वास्थ्य परीक्षणको अभाव वा अज्ञानताका कारण कोरोनाले आफू ग्रसित छु भन्ने कुराको हेक्का नागरिकलाई नहुन समेत सक्छ । त्यसका लागि सरकारले तोकेका स्थानहरुमा गइ स्वास्थ्य परीक्षण गर्न सकिने छ । यो रोग लागेपछि न्यूतम १०२ डिग्री फरेनहाइट ज्वरो आउने,सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाहे हुने, घाँटी अररो हुने, थकाइ लागि रहने, टाउको दुख्ने लक्षणहरु देखा पर्न सक्छन् । यी मध्येका लक्ष्ण एकैपटक नलाग्न समेत सक्छ ।

कोभिड-१९ लागि हालेमा मरिन्छ नै भन्ने होइन । यसबाट बच्ने अनेक उपायहरु छन् । त्यसमध्ये कोरोनाबाट बच्ने सजिलो उपाय भनेकै आफ्नो निगरानीमा आफै बस्ने वा छुट्टै बस्नु नै हो । त्यसका अलवा भीडभाडमा नजाने, कसैसँग पनि हात नमिलाउने, आँखा, कान तथा नाक छोइ नरहने, ब्यक्तिगत सामानहरुको बहुप्रयोग नगर्ने, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यू पेपरको प्रयोग गर्न सकेमा यो रोगबाट सहजै बच्न सकिन्छ । कम्तिमा एक मिटरको दूरीमा बस्ने डक्टर वा स्वास्थ्यकर्मीहरुको नियमित सम्पर्क र सल्लाहमा रहने मास्कको प्रयोग गरिरहने बानीले यो रोगबाट आफूलाई बचाउन सकिन्छ । यति विधि अपनाउँदा समेत ज्वरो वा रुघाखोकी लागि हालेमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा जानु पर्ने देखिन्छ ।

हतास र हतार मानसिकतामा होइन धैर्य र शालीनता अपनाउन सकिएमा पक्कै पनि यो रोगलाई हामी नेपालीहरुले सहजै नियन्त्रणमा राख्न सक्ने छौं । रक्सी,चुरोट तथा अन्य लागूपदार्थ खाएर कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत समाचारले नेपालीहरुलाई कुनै हालतमा पनि बताउने छैन । स्वस्थ रहौं र सचेत रहौं त्यहि नै हो कोरोनाबाट बच्ने सहज उपाय हो । भ्रमबाट बचौं र अरुलाई नि भ्रममा नपारौं । सकारात्मक र सही सन्देश नै कोरोनाबाट बच्ने साँचो उपाय हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।