ताजा अपडेट »

बेलबास-बेथरी सडक: अलपत्र भएपछि दबाव दिन स्थानीयले बनाए संघर्ष समिति

मंगलबार, १८ बैशाख २०८१, १२ : ४०
234 Shares

बुटवल। बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाव दिन स्थानीयले संघर्ष समिति गठन गरेका छन् । आइतबार स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको भेला तथा वैठकले विजय ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिमा श्याम विक,लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ्ग , रुजेन्द्र गुरुङ्ग लगायत छन् ।

स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने निर्णय गरेका छन् । संघर्ष समितिले सडक किनारका नाली र कुलाको काम पूरा गर्न,सडक बीचमा रहेका विजुलीका पोल तत्काल हटाउन माग गरेको छ । संघर्ष समितिले  हरिहर श्रेष्ठलाई सल्लाहकार संयोजक बनाएको छ ।

बेलबास–बेथरी सडकको बेताहानीदेखि दक्षिण तर्फको खण्ड तीन वर्ष अघि नै निर्माण सम्पन्न भएपनि बेताहानीदेखि नहरपुरसम्मको खण्डको काम पूरा नहुंदा दुर्घटनाको जोखिम बढेको तथा धुलो र हिलोले सवारी साधन चलाउन कठीन भएपछि संघर्ष समिति बनाइएको संयोजक विजय ढकालले बताए । यो सडक खण्डमा अर्घाखांची सिमेन्ट उद्योगमा चुनढुंगा पुराउने टिप्पर बढी मात्रामा चल्छन् ।बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन । चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

खास गरी त्यो प्याकेज पूरा नहुँदा स्थानीयवासीलाई समेत यात्रा गर्दा कठिन भएको छ । २०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।