ताजा अपडेट »

वाफ वुमेन्स च्याम्पियन बन्यो जोर्डन, नेपाल उपविजेतामै सीमित

शुक्रबार, १८ फागुन २०८०, ०० : ३९
50 Shares

बुटवल । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाललाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै जोर्डनले उपाधिको चुमेको छ ।

टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे । नेपालका लागि भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

रोजबहानले जोर्डनका लागि निर्णायक गोल गरिन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नुर जोकासले पनि गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हिरा भुजेले गोल गरे । निर्धारित समयको खेल २-२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । नेपालले सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

खेलको अन्त्यतिर पछाडि रहेको स्थितिमा पनि नेपाल खेलमा फर्कन भने सफल रह्यो । नेपालले २८ औं मिनेटमा सविता रानामगरको गोलले अग्रता लिएको थियो । रेखा पौडेलको पासमा उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा जोर्डनले दुई गोल फर्काएको थियो । लारा परेराले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याइन् ।

सारा अबुसाराले ८९ औं मिनेटमा गोल गर्दै जोर्डनलाई पहिलो पल्ट अग्रता दिलाइन् । तर नेपालले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । त्यसमा गीता रानाले गोल गरिन् । मेसा जेब्राहले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको हो ।

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी (साम्बा) क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए । प्रतियोगिताकै सर्वाधिक ९ गोल गरेकी सावित्रा नहुँदा नेपाली टिममा पनि त्यसको असर देखियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।