ताजा अपडेट »

क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा पनि खोल्यो 'क्लोथ बैंक'

शनिबार, ०५ फागुन २०८०, १६ : ५९
226 Shares

बुटवल । क्लोथ एण्ड फूड बैंक नेपालले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा शनिबारदेखि क्लोथ बैंक सञ्चालनमा ल्याएको छ । महानायक राजेश हमालको उपस्थितीमा बैंकको शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, तथा कलाकार दिनेश डि.सीको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताए। उनले बुटवल उपमहानगरपालिका सवै नागरिकहरु प्रति सचेत भएको बताउंदै क्लोथ बैंक सञ्चालन पछि विपन्न र गरिव बर्गका लागि हित हुने विश्वास व्यक्त गरे । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको थियो । सम्झौतापछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।

कार्यक्रममा महानायक राजेश हमालले समाज परिर्वतनका लागि युवा समुहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफू संलग्न हुन पाउँदा खुसी लागेको बताए। कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह समेत उनले गरे।

मानव सेवाको लागि पुरानो कपडालाइ पुन प्रयोग भन्ने मुल नाराका साथ सुरु भएको क्लोथ बैंक बुटवलका विभिन्न स्थानमा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले बताए। उनले आगामी दुई वर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।

कार्यक्रममा सफल सञ्चारकर्मी एवं वरिष्ठ कलाकार दिनेश डि.सीले परोपकारी कार्य सधै मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सबै नगरबासीलाई आग्रह गरे । क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन भने आवश्यक पर्नेहरुले निशुल्क लिन सक्नेछन् । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविश्कार खनालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।