ताजा अपडेट »

भैरहवामा सुरु महिला उद्यमी सम्मेलनमा ५ सांसदले गरे वहिष्कार

शुक्रबार, ०४ फागुन २०८०, १७ : २५
146 Shares

बुटवल । सरकारी मर्यादाक्रम नमिलेको भन्दै भैरहवामा शुक्रबारदेखि सुरु राष्ट्रिय महिला उद्यमी सम्मेलन-२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका ५ महिला सांसदहरूले वहिष्कार गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा भएको उद्घाटन कार्यक्रममा सरकारी मर्यादाक्रम मिचिएको उनीहरूको आरोप छ ।

महिला उद्यमीहरूको कार्यक्रममा महिला सांसदहरूको पद तथा गरिमालाई नै अनादर र अपमान भएपछि आफूहरूले कार्यक्रम वहिष्कार गरेको सांसद हेमा बेल्वासेले बताइन् । अर्की सांसद भगवती अधिकारीले भनिन्, ‘आसन ग्रहण गराउँदा हामीहरूमाथि अन्याय भयो, सरकारी मर्यादाक्रमअनुसार हामी १५ औं स्थानमा रहेका बेला एउटा व्यवसायिक संस्थाको अध्यक्षभन्दा पछाडि आसन ग्रहण गराएपछि वहिष्कार गरेर हिँडेका हौं ।’

सांसदहरु जानकी न्यौपाने, शान्ति लोध र मीना श्रेष्ठले पनि कार्यक्रम वहिष्कार गरेका छन् । आफूहरूमाथि अपमान भएको कुरा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर हलबाट बाहिरिएको उनीहरूको भनाइ छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण उनी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाइएको थियो । आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई विशिष्ट अतिथि नबनाई अतिथिमात्र बनाएको भन्दै सांसदहरू रिसाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाईमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा २ दिने सम्मेलन आयोजना गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।