ताजा अपडेट »

राजीनामा दिएकै दिन गठबन्धन फेरेर नीतिश कुमार फेरि बिहारको मुख्यमन्त्री

सोमबार, १५ माघ २०८०, ०९ : ३६
84 Shares

बुटवल । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा नीतिश कुमार नवौँ पटक मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए तर केन्द्रको सत्ताधारी भारतीय जनता पार्टीसँग गठबन्धन गरेर आइतवारै पुनः मुख्यमन्त्रीको शपथग्रहण गरेका हुन्।

भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ र त्यस क्रममा त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको बताइन्छ। सत्ताधारी भारतीय जनता पार्टीसँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीहरूको गठबन्धनको एउटा महत्त्वपूर्ण दलको नेतृत्व गर्ने नीतिश कुमारको राजीनामा र पुनस् नियुक्तिलाई पनि त्यसैको एउटा सिलसिलाका रूपमा हेरिएको छ। नीतिश कुमारले आइतवार बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामापत्र बुझाएका थिए।

त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रायका आधारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको बताएका थिए। नीतिश कुमारले नवौँ पटक बिहारको मुख्यमन्त्रीको शपथ लिएसँगै उनीसहित कुल नौ जना मन्त्रीले शपथग्रहण गरेका छन्। त्यसमा तीन जना भाजपा, मुख्यमन्त्रीसहित नीतिश कुमारको दलका चार जना रहेका छन् भने एकजना हिन्दुस्तानी अवाम मोर्चा र एकजना स्वतन्त्र विधायक मन्त्री बनेका छन्। त्यहाँ दुई जना उप-मुख्यमन्त्री नियुक्त भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।