ताजा अपडेट »

६ हजारमा बनेको घरबाट सुरु भएको थियो गुल्मी तम्घासको बजारीकरण

विहीबार, १६ कार्तिक २०८०, १६ : ५०
42 Shares

गुल्मी । श्रीमानले ढुंगाले छाएको दुई तले घर बनाउन कसैलाई ६ हजारमा ठेक्का दिँदा श्रीमती ऋणले डुबिने भैयौं के गरे बुढाले भन्दै रुवाबासि गरिन् । गाउँलेले पनि त्यति महङ्गो ६ हजार रुपियाँमा घर बनाउन लाग्यो । अब यो टुप्पिने भयो । किन बौलायो यसरी भन्दै कसैले पिर चिन्ता गरे त कसैले खिसिटियुरी गरे ।

तर उनले हिम्मत हारेनन् । ६ हजारमा घर बनाएरै छाँडे । ६ हजारको त्यो घर अहिले गुल्मी सदरमुकाम तम्घासको मुटु मानिने भिमचोकमा रहेको छ । त्यो पुरानो घरलाई मात्रै होइन् । घडेरीलाई नै करोडौंमा किन्न आत्तुर छन् अहिले यहाँका मानिसहरु । तम्घासको भिमचोक यहाँको सदरमुकाम स्थापनाको इतिहाससँग जोडिएको छ । ६ हजारमा त्यो घर बनाउने व्यक्ति थिए भिमलाल उपाध्याय मरासिनी । तर, उनी यो दुनियाँमा छैनन् । उनले बनाएको ६ हजारको त्यो घरले भने अहिले अर्धकच्ची भएर सटरमा मज्जाले व्यापार चम्काएको छ । घर बनाउने जोडी मध्येकी एक जीवित साँछी हुन्, उनै भिमलाल उपाध्यायकी श्रीमती एकमाया उपाध्याय मरासिनी ।

अहिले उनी ९१ वर्ष उमेरको पुग्दा पनि त्यही ६ हजारमा बनेको घरको स्मरण गर्दै भावविह्ल हुन्छिन् । २००५ सालमा गुल्मीको चारपालाकी ११ वर्षीय बालिका एकमायाको भिमलाल मरासिनीसँग विवाह भएको थियो । ‘११ वर्षकी बालिका थिएँ । विवाह भएर आउँदा उपल्लो तम्घासमा घर थियो । स–साना खरका झुपडी थिए । तल तम्घासमा झाडी मात्रै थियो । रातको तिन बजे उठेर ढिकी जातो, गोबरसोत्तर सकेर पानी ल्याउन पधेंरा चाहार्दै हिड्थिम् । उजेलो हुँदा माथि रेसुंगामा दाउरा घाँस लिन पुग्थिम्’–एकमायाले भनिन्,– ‘बाउ, आमाले ठुलै घरानामा पारें तर घर गर्न निकै गारो थियो ।’ हुन पनि भिमलाल भनेपछि तत्कालिन लक्ष्मिपुर पञ्चायत र हालको रेसुंगा नगरपालिका वडा नम्बर १ भिमचोक र वडा नम्बर ९ मा पुर्खौली घर रहेका उनी सबैभन्दा ठुला जमिनदार, व्यापारीहरुका जग र समाजसेवि थिए ।

झाडीमा यसरी बने महलहरु

२००९ सालअघिसम्म तम्घासको भिमचोक पुरै झाडी थियो । एकमाया भन्छिन् , ‘विस्तारै त्यो झाडी खनेर मेरो श्रीमानले भल छोपुवा खेत र बारीमा परिणत गर्दै हुनुहुन्थ्यो । त्यहि क्रममा हाम्रो त्यो जमिनमा चारपाला डाँडीपोखरीका बन्जाडे भन्ने व्यक्तिले सानो टहरो बनाएर दोकान थाप्न सुरु गरे । उहाँलाई पनि त्यस्तै व्यापार गर्ने झोक चलेर होला त्यस्तै छाप्रो बनाएर दोकान थाप्न सुरु गर्नुभयो । जतिबेला वारी हाम्रो एउटा र पारी रन्चे साहुँ भन्नेको अर्को गरी दुईवटा पसल मात्र थिए ।’ नुन, सुर्ति, भुस्साह, तमाखु, यस्तै–यस्तै व्यापार चल्थ्यो, त्यतिबेलासम्म चिनिको चिया खासै चलन थिएन् । खाए पनि फिटेर खाइन्थ्यो । उहाँले नै चिया चिनिसँगै पकाएर खाने बेच्ने चलनको सुरुवात गर्नुभएको हो ।’ एकमायाका जेठा छोरा माधवप्रसाद मरासिनी आमोको कुरा बीचमा काट्दै थप्छन्,– ‘त्यसरी एकादुई पसलबाट अहिलेको तम्घास बजार बनेको हो ।’

उनी भन्छिन्, –‘२०१३ सालमा बुवाले ६ हजार खर्चेर त्यो घर त बनाउनु भयो । तर ऋण तिर्न गाह्रो भएपछि एक जना नजिकका मान्छेसँग सल्लाह लिनुभएछ र दुकान बढाउने सुरमा लाग्नुभएछ । तर साथमा पैसा भएन् । त्यसपछि अर्घातोसका योगप्रसाद बन्जाडेसँग ३ सय रुप्पे २५ वटा टिकट तम्सुकमा टाँसेर ऋण काढ्नुभएछ । त्यहि रकम लिएर २०१३ सालमा त्यतिबेला खसौली बजार भइसकेको थिएनँ । वारी बटौलीबाट नुन, चिनि, तमाखु, १२ जना भरिया लगाएर ल्याउनुभयो । यसरी सुरु गरिएको दोकान २०२२ साल देखि कपडा पसल समेत गरियो । दोकान त्यसरी बढाउनका लागि इस्माका ईश्वरीप्रसाद रिजालसँग बुवाले सय कडा दुईमा ६० हजार ऋण काढ्नुभयो ।’

बुवा जिल्लाकै भलाद्मी भएकाले सय कडा दूई को त्यो ब्याज निकै कम थियो । नत्र अरुले त्यतिबेला सय कडा ५ देखि १० सम्म ब्याज लिन्थे । ब्यापार बढ्दै जाँदा बटौली पाल्पादेखि हाम्रो पसलसम्म एक पटकमा ३ सय जनासम्म भरिया हुन्थे । तिनै भरियाहरुलाई भारी बिसाउनका लागि बुवाले अहिले भिमचोकको प्रवेशद्वार रहेको स्थानमा चौपारी बनाउनुभएको थियो ।’ उनले भनिन् ‘व्यापार बढ्दै जाँदा त्यो बेलामा पाल्पा तानसेनका मेघप्रसाद श्रेष्ठको पसलमा समेत हाम्रो एकै महिनामा बुझाउनुपर्ने तीन लाखको बिल पुग्थ्यो । बुवाले व्यापार मात्रै गर्नुभएन् । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमै बनाउनुपर्छ भनेर हाल सिडियो क्वाटर रहेको स्थान लगायतका झण्डै आधा बजार रहेको जमिन छाडेर बुढिचौर तलको सट्टाभर्ना जमिन लिएर दिनुभयो । तम्घासलाई सदरमुकाम बनाउनुपर्छ भन्ने बुवाको उद्देश्यलाई साथ दिनुभएको थियो, तत्कालिन बडाहाकिम गिरीप्रसाद बुढाथोकी लगायतले ।’

त्यस्तै राजदरबारसम्म पहुँचभएका नयाँगाउँ घर हुने नेपाली सेनाका कणेल शम्शेर बहादुर मल्लको पनि सदरमुकाम तम्घास राख्नमा ठुलो हात थियो । त्यतिबेला श्रृङ्गाका कडेंलहरुको पनि थुलै पहुँच भएकोले पनि श्रृङ्गामै सदरमुकाम राख्नुपर्छ भन्ने निकै ठुलो जोड थियो । त्यसका बाबजुत पनि तम्घास सदरमुकाम भएरै छाड्यौँ । तम्घासलाई बजारीकरण गर्न त्यसपछिका बडाहाकिम चन्द्रमान थकालीको ठुलो हात छ । उनले भने,–‘हाम्रा बुवा सहित यहाँका पुराना अन्य समाजसेविहरुले पनि तम्घासलाई हामीले जस्तै जग्गा सरकारलाई सुम्पिनुँ लगायतको योगदान पु¥याउनुभएको थियो ।’

यातयातको साधन खरिद गर्ने पहिलो परिवार
सदरमुकाम तम्घासमा २०३९ सालमा ट्क्याटर आएको थियो । सोही वर्ष नै मरासिनी परिवारले पहिलो पटक ट्क्याटर खरिद गरे । मरासिनी भन्छन् ,‘भैरहवातिर गएर बेलारस कम्पनीको ट्क्याक्टरको चेसिस १ लाख ७५ हजारमा खरिद गरि करिब ४० हजार खर्च गरेर बडी बनाई तम्घासमा चलाउन सुरु गरेका हौं । त्यस टक्याक्टरका शेयरधनी मेरा साथी शेर बहादुर थापा पनि हुनुहुन्थ्यो । २०४२ सालमा आएर उहाँ र म मिलेर ३ लाख ६६ हजारमा ट्रक खरिद ग¥र्यो । टेक्टर र ट्रक खरिद गर्ने तम्घासमा पहिलो व्यक्ति हामी हौं । तर बस खरिद गर्ने पहिलो व्यक्ति भने नन्दराम भुसाल हुनुहुन्छ ।’

जुन बसको नम्बर २२४४ भनेपछि निकै चर्चित थियो । भुसालका छोरा ताराप्रसाद भुसाल भन्छन्,–‘उताबाट आउने बस त उतैका मान्छेको हुन्थ्यो । तर यताबाटा जाने आउने बस भने किनेर चलाउने हामी नै थियौं ।त्यस्तै पाँच/छ वर्ष चल्यो ।’ मरासिनीले उन्नत जातको गाई पनि तम्घासमा भित्राउने मरासिनी नै आफु पहिलो भएको दाबी गर्नुहुन्छ । २०४४ साल तिर इन्डियाबाट नेपाल भित्राउन नपाईने हुँदा हुँदै पनि १५ हजारमा एउटा साढे र १० हजारका दरले ४ वटा उन्नत जातका गाई किनेर ल्याएको थिएँ ।’ मरासिनीले भने । भाई भिष्म भन्नुहुन्छ ‘गाई त ल्याएर प्रशस्त दुध स्यारियो । तर चिया खानका लागि किनिदिने मान्छेभ भएन् ।दु ध दुहुँदै गोरस बनाउँदै तिनै गाईहरुलाई खुवाथ्यो।’

उनै परिवारले दिए तम्घासलाई उज्यालो ।
बाबु भिमलालले तम्घासलाई सदरमुकाम बनाउन त्यतिठुलो योगदान गरे । उनैका जेठा छोरा माधवप्रसाद मरासिनीले २०४२ सालसम्म टुकी बत्ती, लालटिन त कतै दियालोमा रहेको तम्घासलाई विद्युत बत्ति दिन अगुवाई गरे । २०४२ सम्म तम्घास बजारबाट बग्दै बनेको ओख्रनी खोलाको पानी ठुलो थियो ।

त्यहि पानिलाई सदुपयोग गरेर पानीमिल बनाउने योजना सुरु गरे मरासिनीले । अनकन्टार भीर र कडा चट्टान फोडेर कुलो बनाउन दुई वर्ष लाग्यो । मुहान देखि सिल्लेखोलासम्म करिब पाँच सय मिटरमा १२ सय किलोवाट क्षमताको विद्युत उत्पादन भयो र मिल चल्न सुरु ग¥र्यो । जुन मिल मजुवा र सामाचौर पछि गुल्मीमा तेश्रो थियो । माधवप्रसादकी आमा एकमाया भन्छिन्– ‘उतिबेला तोरी पेल्न यहाँबाट मजुवा जान्थिम । त्यसपछि सामाचौरमा मोतीबहादुर जिसिले मिल खोले र मेरा बुहारीहरु सामाचौरमा तोरी पेल्न जान्थे ।’ उनकी जेठी बुहारी जानकीदेवि भन्छिन्, –‘होतनी यहाँबाट सामाचौरसम्म तोरी पेल्न जाँदा कम्ता दुख लाग्दैन्थ्यो । जब मिल तम्घासमै खोलिम त्यसपछि सजिलो हुन थालेको हो ।’

जिल्लाको तेश्रो मिल २०४२ सालमा आएर ३५ किलोवाट क्षमताको जिल्लामै पहिलो लघु जलविद्युत योजना बन्न पुग्यो । जसको नाम धर्म विद्युत सेवा राखिएको थियो । त्यतिबेलासम्म नेपाली सेना, यहाँको प्रहरी, प्रशासन र अदालत समेत अध्याँरोमा बस्न बाध्य भइरहेका बेला एउटा नागरिकको निजि लगानीबाट तम्घास बजारलाई विद्युत सेवा दिइएपछि माधवप्रसाद मरासिनी तम्घासमा वावाही बने ।

उनलाई सेना, प्रहरी, प्रशासनका मान्छेहरुले समेत खोज्न थाले । उनका भाई भिष्म मरासिनी भन्छन्, –‘म पनि स्कुल जाने समय बाहेक दाईसँगै विद्युतको काममा खट्थें । ४२ इन्चिसम्मको बेलिबटन पाइन्ट र बुट लगाउनुहुन्थ्यो । त्यतिबेला त उहाँलाई यस जिल्लाको हिरो नै ठानिथ्यो ।’ उनी भन्छन् ‘त्यतिबेला विद्युत उत्पादनमा हामीले ३० देखि ३५ लाख लगानी गरेका थियौं । जुन रकम अहिलेका लागि निकै ठुलो हो ।’ हामीले सरकारी निकाय सहित दुई सय सात घरधुरीलाई विद्युत सेवा दिएका थियौं ।
सरकारको तर्फबाट भने २०४९ सालमा आएर विद्युत सेवा दिने कामको सुरुवात भयो । नेपाल विद्युत प्राधिकरणले धर्म विद्युत सेवा विस्तापित गरेर प्राविधिकरणको विद्युत सेवा दिनका लागि ११ लाख भन्दा बढी रकम मुआब्जा स्वरुप दियो । र पनि विद्युत प्राधिकरणको विद्युतले नियमित उज्यालो दिन नसकेपछि मरासिनीकै विद्युत सेवाबाट तम्घासबासीले विद्युत सेवा पाएका थिए ।

त्यस यता भने भिमचोकको घर छाडेर माथि पुर्खौली घर उपल्लो तम्घास बस्न बाध्य भए मरासिनी परिवार । जमानामा त्यत्रो मिल र विद्युतका मालिक मरासिनी भिमचोक पछाडी सानो मिलमा खुम्चिए । बाबुको पसले पेशाबाट पनि बाहिरिए । कारण थियो, विद्युतमा गरेको लगानी डुब्नु । भिमलाल उपाध्यायका पाँच भाई छोरा चार बहिनी छोरी मध्ये अहिले भिष्म सहितका तीन भाई अमेरिकामा छन् । २० वर्ष पछि घरमा आमासँगै दशैं मान्न घर आएका भिष्म भन्छन्, ‘हामीले उतिबेलादेखि सुरु गरेको उद्यमशिलतालाई फेरी पनि निरन्तरता दिने चाहना छ । हेरौ कुन क्षेत्रमा गरिन्छ ।’

त्यो जमानामा गुल्मी जस्तो पहाडी जिल्लाको व्यक्तिले लघु जलविद्युत सञ्चालन गरेर सदरमुकाम उज्यालो पा¥र्यो भन्ने माथि दरबारमा पनि कुरो पुगेपछि २०४४ सालमा पोखरा भ्रमणमा आएका राजा वीरेन्द्र हेलिकप्टर चढेर तम्घास आए । तम्घास आएर माधव मरासिनीलाई धन्यवाद दिए । थप हौसला पनि प्रदान गर्दैसँगै तस्बिर खिचाए । त्यहि तस्बिर नै मेरो ठुलो सम्पत्ति हो मरासिनी भन्छन् ।

उनी थप्छन्, ‘मलाई पछुतो भनेकै राजा वीरेन्द्र तल पावर हाउससम्म पुगेर अवलोकन गर्ने चाहना राख्दाराख्दै पनि तत्कालिन सवारीमन्त्री जोगमेयर श्रेष्ठले विकट थलोमा सरकारलाई सुरक्षा दिन सकिन्न भनेर रोकेकोमा । यसरी गुल्मी जिल्लाकै उज्यालो गुल्मीका परिकल्पनाकार माधव प्रसाद मरासिनीलाई चलिरहेको गुल्मी महोत्सवको आयोजक गुल्मी उद्योग संघले उज्यालो गुल्मी नक्षत्रको रुपमा सम्मान प्रदान गर्नु निकै सहरानिय कार्य भनेर धेरैले प्रशंसा गरेका छन् । ६ हजारमा बनेको त्यो घर बेच्ने मन छैन् भन्ने प्रश्नमा मरासिनी र मरासिनीकी आमा एकमाया भन्छिन्,‘त्यो त हाम्रो चिनो हो । बेच्ने त कुरै हुँदैन् । माथि सिडियो साब्को क्वाटर एरियाको जमिन समेत अहिले पनि आफ्नै जस्तो लाग्छ । बरु सट्टामा पाएको बुढिचौर मुनिको त्यो झाडी आफ्नो जस्तो लाग्दैन् ।

भिमलाल चुनावी राजनीतिमा कहिल्यै लागेनन् । बरु उनका माइला भाई चेतनारायण मरासिनी साविकको तम्घास गाविस र तत्कालिन लक्ष्मीपुर गाउँपञ्चायतका प्रधानपञ्च थिए । भिमलाल २०३५ सालमा ४२ वर्षको उमेरमा भारतको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारजन बताउँछन् । भिमचोकको त्यो घरमा अहिले अरुले पसल गरे पनि उनै भिमलाल छनकी भन्ने झझल्को आउने बुढापाका सुनाउँछन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार