ताजा अपडेट »

भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग

विहीबार, २२ मंसिर २०७९, १८ : ०८
20 Shares

भैरहवा । भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका थिए । त्यसपछि उनको दाहिने हात दुई ठाउँबाट भाँचिएको थियो । घटना लगत्तै स्थानीय र परिवारका सदस्य मिलेर उपचारका लागि भीम अस्पताल पुर्याएका थिए । भीम अस्पतालले थप उपचारका लागि मेडिकल कलेज रेफर गरेको थियो । “मेडिकल कलेजमा १ वर्षसम्म उपचार चल्यो, डिस्चार्ज गरेपछि पनि बोलाएका बेला अस्पताल गयौं ।” रुपकका बाबुले भने, “अन्तिम पटक फिजियो थेरापी गराउनुपर्छ भनेपछि त्यो पनि गरायौं । तर, हात ठीक भएन ।”

उपचार क्रममा चिकित्सकले हातमा रड राखेका थिए । उक्त रड साढे दुई महिनाअघि निकालिएको थियो । त्यसपछि फिजियो थेरापी गराउँदा समेत हात नमोडिए पछि परिवार अत्तालिएको उनले बताए । रुपकको दाहिने हात मोडिदैन । “पटक पटक डाक्टरले बोलाएर भने अनुसार गर्यौं ।” मिश्राले भने, “तर हात मोडिएन ।” यहाँ सुधार नभएपछि काठमाडौं स्थित बीएण्डबी अस्पताल पुगेको उनले बताए । “बीएण्डबीका डाक्टर बाबुकाजी श्रेष्ठले शल्यक्रिया गर्दा हड्डी सही ठाउँमा नराखेका कारण समस्या आएको बताए ।” मिश्राले भने, “दुई साताको दवाई दिएर पठाएका छन् । त्यसले सुधार नभए थप उपचार अगाडि बढाउने बताएका छन् ।” रामजीयावनले मेडिकल कलेजमा उपचारका क्रममा ६ लाख रुपैयाँ सकिएको दाबी गरे । काठमाडौंबाट फर्किएको एकसातापछि क्षतिपूर्ति माग्न बुधबार मेडिकल कलेज पुगेको उनले बताए । 

“सुरुमै उपचार सम्भव नहुनेबारे जानकारी दिनुपथ्र्यो,’ उनले भने, ‘मेरो छोराको भविष्यमाथि खेलवाड भयो ।’ उनले मेडिकल कलेजका चिकित्सक डाक्टर प्रकृतिरा कंडेलले यही ठीक हुन्छ, पछि केही समस्या आउँदैन, अन्त जान पर्दै भनेर उपचार गरेको तर छोराको हात ठीक नभएको गुनासो गरे । “ठीक हुन्छ भनेर एक वर्षसम्म अस्पतालले रोक्यो, ६ लाख रुपैयाँ सकियो । तर छोराको हात ठीक भएन ।” उनले भने, अस्पताल र चिकित्सकले आफ्नो छोराको भविष्यमाथि गम्भीर खेलवाड गरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । आफूले चिकित्सक र अस्पताललाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रशासनमा उजुरी दिनेसमेत बताए ।

यता मेडिकल कलेजले उपचारमा कुनै लापारवाही नभएको दावी गरेको छ । अस्पतालका प्रशासन संयोजक तेज केसीले अपरेशन पछि फिजियोथेरापी गर्नु पर्नेमा त्यसो हुन नसकेको बताए । यस बाहेक प्राकृतिक रुपमै भाचिएको स्थानमा हड्डी पलाएको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।