ताजा अपडेट »

बढ्यो भीड, बढेन व्यापार

आइतबार, ०९ असोज २०७९, ११ : २६
14 Shares

काठमाडौँ । दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडकपेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ ।

एक सातायता बजारमा दैनिक उपभोग्य वस्तुुदेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको हो । सार्वजनिक बिदाको दिन भएकाले शनिबार काठमाडौँको मुख्य व्यापारिक केन्द्र नयाँ सडकमा किनमेल गर्नेको भीडभाड झन् धेरै थियो । दशैँ मान्न उपत्यकाबाहिर घर जानेहरू चाँडै किनमेल गरेर घर फर्कने हतारोमा देखिन्छन् ।

कारोबार कम छ

बजारमा ग्राहकको भीड बढे पनि कारोबार भने घटेको व्यापारी बताउँछन् । सामान्य वर्षको दशैँको तुलनामा यस पटकको दशैँको कारोबार आधाले घटेको व्यापारीको भनाइ छ । नयाँ सडकको तयारी कपडा बेच्ने गुप्ता सप्लायर्सका सञ्चालक दिनेश गुप्ताले बजारमा देखिएको भीडजस्तो कारोबार बढ्न नसकेको बताए। “दिनप्रतिदिन ग्राहकको सङ्ख्या बढ्दै छ तर विगतका वर्षजस्तो व्यापार बढ्न सकेको छैन,” उनले भने । विगतका दशैँमा दैनिक ५० देखि ६० हजार रुपियाँको कारोबार हुने गरेकामा अहिले २५ देखि ३० हजार रुपियाँको कारोबार हुने गरेको उनले बताए ।

नयाँसडक, मखन टोलको बिक्की स्टोरका सञ्चालक विक्की रौनियारले दशैँको चहलपहल बढे पनि कारोबार उत्साहजनक नभएको बताए। “विगतका दुई वर्ष कोभिड–१९ को कारणले व्यापार हुन सकेन । यस पटक बैङ्कमा तरलता अभाव र चर्को ब्याजले गर्दा व्यवसायीले लगानी गर्न नसक्दा व्यापार बढ्न सकेको छैन,” रौनियारले भने।

भृकुटीमडण्डपमा १५ वर्षदेखि जुत्ताचप्पलको व्यापार गर्दै आउनुभएका काभ्रेका पूर्ण लामाको अनुभव पनि यस्तै छ । विगतका वर्ष दशैँको बेला दिनमा ४० देखि ५० हजार रुपियाँको व्यापार हुने गरेकामा अहिले आधाले घटेको उनले बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले कारोबार घटेर ५० प्रतिशतमा झरेको बताए । “बैङ्कमा तरलता अभाव, चर्को ब्याज र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका कारण व्यापार बढ्न सकेको छैन,” उनले भने । अहिले खुद्रा व्यापार नियमित रूपमा भए पनि थोक व्यापारमा कारोबार बढ्न नसकेको पूर्वअध्यक्ष कटुवालले जानकारी दिनुभयो । “साना व्यवसायीलाई बैङ्कले ऋण दिँदैन, सहकारीबाट निकाल्नुपर्छ । सहकारी समस्यामा परेकाले ऋण पाउन नसक्दा व्यवसायीलाई आर्थिक सङ्कटमा छन्,” उनले भने ।

सामानको कमी

ग्राहक र व्यापारीको एउटै गुनासो छ, बजारमा पर्याप्त सामान छैन । ग्राहक सामान छान्न नपाएको गुनासो गर्छन् भने व्यापारी पर्याप्त सामान हाल्न नसकेको बताउँछन् । खासगरी अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको, आर्थिक मन्दीको अवस्था आएको, कर्जा नपाएको र ब्याजदर बढेका कारण पर्याप्त सामान ल्याउन नसकेको व्यापारीको गुनासो छ । उत्तरतर्फका नाका बन्द भएका कारण दशैँलाई लक्षित गरेर ल्याइएका सामान समयमा आउन नसक्दा पनि व्यापार बढ्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बताए ।

मूल्य बढ्यो

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले भने, “बैङ्कमा तरलता अभाव, चर्को ब्याज र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका कारण व्यापार बढ्न सकेको छैन ।”

“१० देखि १५ प्रतिशतसम्म सामानको मूल्य बढेको छ,” भृकुटीमण्डपका पूर्ण लामाले भने । भृकुटीमण्डप खुला बजारलाई सस्तो चिनियाँ सामानको बजार भनेर चिनिन्छ । यो वर्ष खरिद मूल्य नै बढेका लागि उपभोक्तालाई थप मूल्य भार परेको उनले जानकारी दिए । भृकुटीमण्डपमै १२ वर्षदेखि कपडाको व्यापार गर्दै आएका ओखलढुङ्गाका योगेन्द्र लामिछानेले सामानको खरिद मूूल्य नै बढेर आएको र बजारमा पर्याप्त मात्रामा नयाँ सामान नहुँदा पुरानै सामान बिक्री गरिरहेको उनले बताए ।

सुनचाँदी कारोबारमा छैन उत्साह

सिजन सुरु भए पनि बजारमा सुनचाँदीको कारोबार भने उत्साहजनक अवस्थामा हुन सकेको छैन । सुनचाँदी कारोबारको मुख्य सिजन तीज, दशैँ र तिहार भए पनि बजारमा सुनको अभाव हुँदा कारोबार बढ्न नसकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले कारोबारको मुख्य सिजन भए पनि आर्थिक सङ्कुचनका कारण सुनचाँदीको कारोबार बढ्न नसकेको बताए । “विगतका दुई वर्ष कोभिड–१९ का कारण व्यापार हुन सकेन । यो वर्ष बजारमा सुनको अभावका कारण कारोबार बढ्न सकेको छैन,” उनले भने ।

महासङ्घका अनुसार दशैँमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ केजी खपत हुने गरेको थियो तर दैनिक बिक्री २५ केजी मात्रै गर्न सकिएको महासङ्घले जनाएको छ । बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार दुई सय रुपियाँ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।