ताजा अपडेट »

बुटवलको नीति तथा कार्यक्रम : ‘एक वडा एक पहिचान’

बुधबार, ०८ असार २०७९, १६ : १६
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार सम्पन्न नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलका प्रत्येक वडालाई फरक–फरक पहिचान दिने बताएका छन् । ‘एक वडा एक पहिचान’ कार्यक्रमलाई प्राथमिकतामा राखी काम गरिने उनले बताए ।

यसैगरी बुटवलका ६ वटा वडालाई ग्रिन सिटीको रुपमा बिकास गर्ने उल्लेख गरिएको छ । वडा नम्बर १४ देखि १९ सम्मका वडालाई कृषि, पशुपालन तथा हरियाली प्रवर्ध्दनसँग सम्बन्धित पूर्वाधार बिकासका कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । नगर प्रमुख पाण्डेले पारी बुटवललाई एैतिहासिक पहिचान नमेटिने गरी बिकास गर्ने उल्लेख गरे ।

नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेले जनस्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्ने, उप प्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने, क्षय रोग मुक्त बुटवल अभियान सञ्चालन गर्ने, स्वास्थ जीवनशैलीका लागि योग भन्ने नीति अबलम्बन गर्ने लगायतका योजना उल्लेख गरे । यसैगरी शिक्षा तर्फ विषयगत विभाग गठन गरी सबै विद्यालयहरुमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि सम्बन्धित विषय विभाग मार्फत कार्यक्रम सञ्चालन गर्ने, न्यूनतम मापदण्डका आधारमा निजी तथा सामुदायिक विद्यालयहरुको वर्गीकरण लगायतका योजनाहरु रहेका छन् । युवा तथा खेलकूद तर्फ बुटवलका परम्परागत खेललाई प्रबर्ध्दन गर्ने, खेलमैदानहरुको वर्गाीकरण, प्रत्येक वडामा बहुउद्देश्यीय कवर्डहल तथा खुला सामुदायिक शारिरीक व्यायमशाला निर्माण लगायत रहेका छन् ।

बुटवल उपमहानगरको शहरी पूर्वाधार विकासतर्फ ज्योतिनगर, लक्ष्मीनगर चुरे पहाडको भू–क्षय भएको क्षेत्रबाट माटो कटान गरी पार्क र खेलकूद क्षेत्र बनाउन संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने, सुखौरा खोला किनारमा हरियालीसहित पैदल मार्ग निर्माणका लागि पहल, एकीकृत खानेपानी वोर्डको स्थापना, तिनाउ जलाधार क्षेत्रको गुरुयोजना तयार गरी बोटङ गर्ने र दुबैतर्फ रात्रीकालिन बजार तथा वाकिङ वे निर्माण गर्न पहल गर्ने, अव्यवस्थित रहेका टेलिफोन तथा केवलका तारहरुलाई व्यवस्थित गर्ने लगायतका योजनाहरु प्रस्तुत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।