ताजा अपडेट »

फर्किएनौँ चिलगाडी…

मंगलबार, २४ जेठ २०७९, १७ : ५८
6 Shares

अलिक रुन्चे मौसमकाबीच २०७९ जेठ पन्ध्र गते पोखरा विमानस्थलबाट जोमसोमका लागि चरी सरह एउटा चिलगाडी (हवाई जाहाज) हुइँकियो । छोटो दूरी थियो । गन्तव्य नजिक थियो । अनुभवि चालक थिए । तथापि अन्यासै तारा एअरलान्सको सो जहाज विमानस्थलका टावरहरुबाट सम्पर्कविहिन भयो । हरायो । सम्भवतः पोखरा र जोमसोमबीचका खण्डहर भूभागमा कहीँ अलप भयो । अनायास यो कटु समाचार क्षणभरमा देशभर फैलियो । विश्वभर फैलियो । देश, विदेशका सारा मिडियाहरुले खोज तलासमा ध्यान पुर्याउन अधिक कभरेजहरु दिँदै गए।

सो तितो खबर आएपश्चात् आम मानिस एउटा कुरामा विश्वस्त थिए कि एक जना अनुभवी र अर्का युवा चालकको कला असफल हुनेछैन । जहाज दुर्घटनामा पर्ने छैन । आकाशमा हजारौँ घण्टा चरासरी उडेका ती अनुभवी चालकले आफूसहित २२ जनालाई जीवनदान दिनेछन् । त्यसैगरी कलिलो उमेरकी एअर होस्टेसको भाग्यले समेत जहाज पुनः सम्पर्कमा आउने छ । दशा लाग्ने छैन । भन्ने जस्ता कुराहरु आँकलन गर्न थालियो । पीडाजनक खबरहरुकाबीच आशा जीवित नै थियो ।

अर्कोतर्फ यथार्थता तितो थियो । दोस्रो दिनसम्म पनि जहाज अज्ञात थियो । उक्त निर्मम यथार्थतालाई हेर्न नेपाल आमा बाध्य भइन् । आकाश रोइरह्यो । पहाड रोइरह्यो । डाडा–काडा रोइरहे । हिमाल हाँस्न सकेन । कसैका आँखाहरु ओबानो रहेनन् । मानव मन कुँडिइरहे । मन पाक्यो । चित्त दुख्यो । हराइरहेको जहाजका बारेमा अब एउटा मात्र विकल्प बाँकी थियो । भगवानसँग पुकार । त्यो चिलगाडी कहि ल्यान्डिङ गर्न सफल भएको भए हुन्थ्यो भन्ने याचना । कहिँ कतै जहाजमा सवार एक्काइस जना आराम, सकुशल रहेको देख्न, सुन्न पाइयोस् भनेर सबैले भगवानसँग हार गुहार । हृदयदेखि नै सबैले यही कामना गरिरहे ।

तर, क्रुर प्रकृतिले सारा मानिसको पुकार सुनेन । निर्दयी बनेर आयो । साच्चै काल बनेर झुल्कियो त्यो यात्रा । जहाज उच्च पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको खबर आयो । बिभिन्न संचार माध्याम, सामाजिक संजालहरुमा दुःखद दुर्घटनाका तस्वीरहरु आउन थाले । जहाजमा सवार सबैजनाको दुःखद मृत्यु भएको क्रुर सन्देश आयो । जे सुन्नु नपरोस भन्ने कामना थियो त्यो आखिर सुन्नै पर्यो । जे नहोस् भनेर घण्टौँ प्राथना गरियो त्यो भइदियो । जे होस भनेको त्यो हुन सकेन । लाखौँका प्रार्थना व्यर्थ भए । परिवारको आशामाथि तुषारापात भयो । होनाहर चालक दल सहित एक्काइस जना सदाका लागि अस्ताए । एकल आमाकी एकमात्र साहरा एअरहोस्टेस छोरीको मृत्युले उनलाई बेसाहरा बनाइदियो । उनको पीडाको अभिव्यत्तिले सारालाई थप रुवायो ।

हरे भगवान ! क्षणभरमै एक्काइस जनाको सामुहिक मृत्यु । टुक्राटुक्रा बिमान । क्षतविक्षत मानव शरिरहरु । यत्रतत्र छरिएका मानव अङ्गहरु । कतिपय लासको त पहिचान हुन पनि गार्हो । झिनो आशामा बसेका परिवारजन र आम मानिस खबर पाएपछि मानिसहरु स्तब्ध । शोकाकुल । विक्षिप्त । निर्दयी काललाई सबैले धिक्कार्न थाले । अनुनय–विनय, बिन्तीभाउले उनीहरु जिवित रहन सक्ने भए लाखौँ, करोडौं थिए । सायद भगवना साक्षात रुपमा प्रकट भएको भए करुणा राखि उनीहरुलाई जिवीत पारिदिन्थे होला । तथापि त्यो सबै सम्भव थिएन । जे नहुनुपर्ने थियो त्यो भइ नै सकेको थियो ।
प्राणी जगतको सृष्टि सँगसँगै मृत्यु पनि आयो । त्यसैले मृत्यु हुन्थ्यो । हुन्छ । भइरहन्छ । यो कटु सत्य हो । दुखद भएपनि यो अपेक्षित नै हुन्छ । अकाट्य सत्य मृत्युलाई कसैले जित्न सकेको छैनन् । मृत्युले बुढापाका देखि बच्चा, शासकदेखि जनता, अमिर देखि दिन दुःखीसम्म कसैलाई छाडेको छैन । त्यसैले भनिन्छ जीवन र मृत्यु एक सिक्काका दुई पाटा हुन् ।

प्राणी मात्र नभएर संसारका पहाड चट्टानहरु पनि सधैँ उही रुपमा रहन सक्दैनन् । सिर्जना हुने र नाश हुने चक्र सदा चलिरहन्छ । संसारको सृष्टिसँगै चेक एण्ड व्यालेन्सको सिद्धान्त जन्मेको हो । त्यसैले प्रकृतिको नियमअनुसार भइरहने सामान्य मृत्युलाई मानिसले सहज रुपमा स्वीकार गर्छ । आनाकानी, नाइनास्ति गर्दैन । गर्न सक्दैन । मर्नेले मृत्युलाई सहज रुपमा अगालो मार्न पुग्छ । अन्यले पनि त्यसलाई स्वीकार्छन् । तर मृत्यु कहिले हुन्छ भन्ने कसैलाई ज्ञान हुँदैन । कसरी आउँछ भन्ने पत्तो हुदैन । कुन कारणबाट मानिस मर्छ भन्ने थाहा हुदैन । मृत्यु सामान्य वा क्रुर कस्तो बनेर आउछ कुनै भर हुँदैन ।

एक जना अज्ञात लेखकले जीवन र मृत्युका विषयमा एक रोचक प्रश्नोत्तर सिर्जना गरेका छन् । जीवनले मृत्युलाई प्रश्न गरेछ कि मानिसहरु मलाई माया गर्छन तर तिमी(मृत्यु)लाई किन घृणा ? त्यसको उत्तरमा मृत्युले भनेछ कि तिमी(जीवन) सुन्दर झुट हौ भने म पीडादायी सत्य । वास्तविकता पनि यही हो । सत्य यही रहेछ । प्राकृतिक रुपमा उमेर पुगेपछि हुने मृत्युलाई सारा लोकले स्वीकार गरेकै छ । पीडा भएपनि प्राकृतिक नियम भएकोले सामान्य रुपमा नै लिन्छन् । तथापि तारा एअरको दुर्घटनामा भएका जस्ता केही मृत्युहरु बचाउन नसकिने हुँदा रहेछन् । सारा मानव जगतलाई पीडादायी लाग्दा रहेछन् । भगवान सारै क्रूर भएको आभाष हुँदो रहेछ । अनायस, अकालमा ज्यान गुमाउनु पर्ने अवस्थालाई मानव जगतले अन्य सामान्य मृत्युको दर्जामा राख्न सक्दो रहेनछ । यो एक गम्भिर सन्दर्भ बन्दो रहेछ ।

जीवन र मृत्यूका बारेमा अमेरिकन प्रख्यात उपन्यासकार तथा कवि सिल्भिया प्लाथले आफ्नो कविता लेडी लजारसमा सकारात्मक रुपमा वयान गरेकी छन् । उनी भन्छिन कि मर्नु अरु क्रियाकलाप गर ेजस्तो एक कला हो । यसको अर्थ जीवनमा हुने विभिन्न क्रियाकलापहरु जस्तो जन्म, विवाह, भोक, तिर्खा जस्तै मृत्यु पनि एक क्रियाकलाप नै हो । जसलाई हामी आफ्नो कलाअनुसार प्रस्तुत गर्छौ । प्राणि मात्र नभएर संसारका पहाड चट्टानहरु पनि सधैँ उही रुपमा रहन सक्दैनन् । सिर्जना हुने र नाश हुने चक्र सदा चलिरहन्छ । उनको यो भनाई सामान्य मृत्युका सम्बन्धमा जायज होला । जहाज दुर्घटनाको जस्तो अप्रत्यासित घटनासँग मेल खादैन । जहाँ अकालमा सामुहिक ज्यान गएको छ । जसका कारण सारा देशबासी शोकमा छन् । परिवारमा गहिरो चोट परेको छ । असहयीय पिडा भएको छ ।

क्रमशः अकल्पनीय मृत्युलाई भुल्नु पर्छ । रोदनमा अब खुसी छाउनु पर्छ । मृत्यु भएकाहरुको आत्माको शान्तिकोलागि उनीहरुले देखाएका जीवन दर्शन व्यवहारमा ल्याउने प्रयत्न गर्नुपर्छ । होनहार पाइलटहरु, एअर होस्टेस लगाएतको क्षतिपूर्ति भनेकै यही हो । सँगसँगै हवाइ लगाएत अन्य दुर्घटना न्यूनिकरणमा सरकार र सम्वद्य सबै पक्षले ध्यान दिनु अपरिहार्य छ । तारा एअरको जहाज दुर्घटनामा परि मृत्यु भएका सबैको मृत आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।