ताजा अपडेट »

देवदहमा एक वर्षभित्र लालपुर्जा र दुई वर्षमा सडक स्तरोन्नती : हिरा केसी

शुक्रबार, २३ बैशाख २०७९, १८ : २१
8 Shares

देवदह । रुपन्देहीको देवदहमा राजनैतिक गठबन्धनबाट पुनः नगर प्रमुखको उम्मेदवार बनेका देवदह नगरपालीकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर केसीले एकबर्ष भित्र सुकुम्बासी तथा अब्यवस्थित बसोबास सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा देवदहमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न भै जग्गा नापजाँच र कित्ताकाट समेत शुरु भएकोले आगामी एकवर्ष भित्र लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका युवा नेता केसीले देवदहका बिभिन्न वडाका भित्रि सडकहरुको स्तरउन्नती र सुधारको काम पनि शुरु भैसकेको जानकारी गराउँदै आगामी दुईबर्ष भित्रमा सबै सडकहरु नगरपालिका कै बजेटमा कालोपत्रे गरिने बताए । देवदहमा संचारकर्मीहरुसँगको छोटो भेटघाट कार्यक्रममा बोल्दै सकभर नगरपालीकाकै बजेटबाट सबै सडकको स्तर उन्नती गर्ने नसके प्रदेश र संघिय सरकारबाट बजेट ल्याएर भएपनि उक्त प्रतिबद्धता पुरा गरेरै छाढ्ने दावी केसीले गरेका छन् ।

सडक सुधारका लागि आफुले अघिल्लो कार्यकाल मै ठोस योजना बनाएर काम शुरु गरिसकेको र प्रदेश सरकार तथा संघिय सरकारसँग बजेटका लागि पहल भैसकेको जानकारी गराउँदै उम्मेदवार केसीले दुईबर्ष भित्र देवदहको रुपै फेरिने दावी समेत गरे ।

यस्तै समग्र देवदहको कृषि क्षेत्रको बिकास र कृषि व्यवसाय प्रवद्र्धनका लागि देवदहमा आधुनिक तथा ब्यबस्थित कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा शीत भण्डारको निर्माण समेत गरिने बताउदै उम्मेदवार केसीले कृषिजन्य ब्यबसायमा करछुट र विद्युत महशुलमा पूर्ण अनुदानको व्यवस्था गरिने बताए ।

यसअघि देवदह वडा नं ७ मा भएको गठबन्धनको संयुक्त घरदैलोका क्रममा नेता केसीले देवदह ७ मा रहेको बहुउद्देश्यीय कोशेली घरको निर्माण सम्पन्न भएको जानकारी गराउँदै निकट भविष्यमा व्यवसायिक रुपमा सञ्चालन गरिने बताए । १ कार्यकाल मेयरको पद समहालिसकेका नेता केसीले देवदह नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिने र प्रत्येक वाडमा २४ घण्टे स्वास्थ्य सेवा र ल्याव सञ्चालन गरिने समेत उल्लेख गरे ।

भवानीपुरको गोल्डेन टेम्पललाई वौद्ध सूचना केन्द्रको रुपमा विकास गरिने बताउदै निवर्तमान नगरप्रमुख केसीले निर्माणाधिन देवदह अस्पताललाई शीघ्र सञ्चालनमा ल्याई उच्चस्तरीय शिक्षा प्रदान गरि प्रतिवद्धता जनाएका थिए । ज्येष्ठ नागरिकहरुलाई बर्षमा २ पटक चिकित्सकीय सेवा घरघरमै उपलब्ध गराउन पहल गर्ने बताउदै केसीले देवदहमा पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गरिने बताए ।

देवदहमा रहेका आन्तरिक तथा बाहय पर्यटकलाई भित्रयाएर केही दिन देवदहमा नै राख्ने खालको व्यवस्था मिलाउने बताए । त्यस्तै गरि गठबन्धनका तर्फबाट उपमेयर पदकी उमेदवार सुन्दरी गिरीले स्थानीय मिडिया, सामाजिक संस्था, लक्षित समूहलाई विशेष अनुदान सहित कार्यक्रम सञ्चालन गरिने बताए । घरदैलो कार्यक्रममा वडा नं ७ का नेपाली कांग्रेसबाट वडा अध्यक्ष, सदस्य पदका उमेदवाहरुका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आस्था राख्ने नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।