ताजा अपडेट »

जनस्तरमा जमेका भोजबहादुर भोट माग्दै जनताको घरदैलोमा

मंगलबार, २० बैशाख २०७९, २० : ५१
6 Shares

बुटवल । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न दलहरुले विभिन्न रणनीतिसहित बुटवलका वडा–वडामा आफ्नो चुनावी प्रचार अभियानलाई तिब्र पारिरहेका छन् । यसै क्रममा बुटवल उपमहानगर वडा नं ९ का अध्यक्ष पद्का उम्मेद्वार भोज बहादुर बुढाथोकी पनि आफ्नो समूहसहित मतदाताको घरदैलोमा पुगेका छन् ।

नेकपा एमाले र जनमुक्ति पार्टी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका बुढाथोकी अध्यक्षमा पहिलो पटक उम्मेद्वारी दिएका उनी सामाजिक सेवामा अग्रसर व्यक्तिका रुपमा मानिन्छन् । यसअघि सामाजिक कामबाट सधै जनताको घर–घरमा पुग्ने भएकाले हरेक मतदाताको घरमा पुग्दा उनलाई खादा, अविर र मालाले स्वागत र बधाईसहित जीतको आशिर्वाद दिने गरेको उनी बताउँछन् ।

बुढाथोकी मतदाताका घरमा पुग्ने क्रममा मतदाताले दिएका सुझाव र उनीहरुका इच्छा र अपेक्षा पुरा गर्ने वाचा सहित अध्यक्षमा आफुलाई मत दिन अपिल गरेका छन् । बुटवल उपमहानगर वडा नं ९ को कुनै–कुनै गल्लिहरु साँगुरा र बीस फुटे बाटो कायम हुन नसकेका ठाउँका मतदाताले बाटा फराकिलो पार्नका लागि पहल गर्न बुढाथोकीलाई अनुरोध गरीरहेकाहरु देखिन्थे । विकास र पूर्वाधारका सन्दर्भमा उनीहरुको एउटै माग छ ,सडक फराकिला र सफा होस जस्ले गर्दा व्यापार र व्यवसाय गर्नका लागि सहज होस र बढ्दो शहरीकरणको मानवीय चापले सडकहरुमा ट्राफिक अवरोध नबढुन् ।'

उनले मतदाताहरुलाई आफु वडा अध्यक्षमा विजयी भएपछि समस्या समाधान हुने वाचा र आश्वासन सहित प्रतिबद्धता व्यक्त गरेका छन् । वडा नं ९ को अध्यक्षमा आफ्नो जीत सुनिस्चित भइसकेको दावी गर्दै उनले मतदातासंग आफ्नो अमूल्य मत अन्त खेर नफाल्न अपिल गरेका छन् । अध्यक्षमा आफ्नो विजय पश्चात वडावासीलाई सुशासन, भौतिक विकास र मानवीय संशाधनको विकासको प्रत्याभूति कस्तो हुन्छ भन्ने कुराको महसुस हुने गरि काम गर्ने मतदाता समक्ष वाचा समेत गरे।

उम्मेद्वार बुढाथोकीले वडाको विकासका लागि बसपार्कलाई आधुनिक टर्मिनलको रुपमा विकास गर्दै बहुतल्ले, बहुउद्देश्यीय पार्किङ्ग सहितका व्यवसायिक भवनहरु निर्माण गर्ने, १६/३६ कुलोलाई थप व्यवस्थित गर्ने, बुटवलको समस्या बन्दै गइरहेको छाडा चौपायाको व्यवस्थापन, हरियाली वडा र विशेषगरि महत्वका साथ नमूना रात्रिकालिन पर्यटकीय बजारको रुपमा वडालाई विकास गर्ने योजनाका साथ आफु अगाडि बढ्ने संकल्प सहित जनताको सेवकको रुपमा अध्यक्षको उम्मेद्वार बनेको बुढाथोकी बताउँछन्।

बुटवल उपमहानगरपालिका वडा नं ९ का अध्यक्षको उम्मेद्वार बनेका भोज बहादुर बुढाथोकी सहित महिला सदस्यमा बिमला श्रेष्ठ, दलित महिला सदस्यमा शोभा सार्की, खुला सदस्यहरुमा विजय गुरुङ्ग र शिब बहादुर अधिकारीले उम्मेद्वारी दिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।