ताजा अपडेट »

प्रो क्लब च्याम्पियनसीप : मलेसिया विरुद्ध रुपन्देही–११ को शानदार जित

शुक्रबार, २५ चैत्र २०७८, १८ : ३७
6 Shares

भैरहवा । लेग स्पिनर शेन वार्नको सम्झनामा भैरहवामा “प्रो क्लब च्यम्पियनशिप” सुरु भएको छ । शुक्रबारबाट रुपन्देहीको भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सुरु भएको हो । जोहरा इन्टरनेशनलको आयोजनामा फैन्टासी अखडा प्रो क्लब च्यम्पियनशिपमा शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टोली रुपन्देही–११ ले मलेसिया–११ माथि ६ विकेटको सानदार जित हासिल गरेकोे छ ।

नेपाल र पपुवा न्यूगिनीसँग त्रिकोणात्मक टि–२० आई सिरिज खेलेर भैरहवा आएको मलेसिया–११ ले पहिलो खेलमै घरेलु टोली रुपन्देहीसँग स्तब्ध भएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको मलेसिया १९ दशमलव ५ ओभरमा १ सय ३१ रनमा अलआउट भएको थियो । मलेसियाका लागी ओपनर विरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । सईद अजिजले २१ बलमा ४ चौका सहित २५ रन जोडे ।

तल्लो क्रमका शार्विन मुनीआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका वशिर अहम्मदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३ दशमलव ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुषालले समान १/१ विकेट लिए ।

१ सय ३२ रनको विजयी लक्ष्य सहित मैदानमा आएको रुपन्देहीले १९ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । रुपन्देहीको जितमा अलराउन्डर वशिर अहम्मद १८ बलमा ४ चौकासहित २७ रनमा अविजित रहे । ओपनर प्रज्वल थापाले ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । सन्दीप रजाली १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

रुपन्देहीलाई ओपनर देव खनाल र प्रज्वल थापाले ९ दशमलव ३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका देव खनालले ३४ बलमा २ चौकासहित २२ रन जोडे । मलेसियाका विरनदीपसिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

रुपन्देहीले अव आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । यस्तै आजै सम्पन्न दोश्रो खेलमा नेपाल पुलिस क्लबलाई एक रनले पराजित गर्दै पुस स्पोर्ट दिल्लीले रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ गरेको दिल्लीले आठ विकेटको क्षतिमा १ सय ३३ रन बनायो । जसमा आदित्य जैनले ३८, मयंक गुप्ता २३, इशान पाण्डे २१ र स्पर्शले १६ रन बनाए । मन्जित श्रेष्ठले चार र पवन सर्राफले दुई विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ९ विकेटको क्षतिमा एक सय ३२ रन मात्र बनाउन सक्यो । गुल्सन झाले ३६, पवन सर्राफले ३३, प्रेम तामाङले २० र दिलिप नाथले १९ रन बनाए पनि जितकालागि पर्याप्त भएन । भारतका लागी सचिन कुमारले ६ विकेट तथा भिसेस सारोहले दुई विकेट लिए ।

भोलीको खेल उत्तर प्रदेश–११ र ट्यालेन्ट हन्ट ढाका तथा दोस्रो खेल नेपाल आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । जोहरा ईन्टरनेशनलका प्रवन्ध निर्देशक आमिर अख्तरले क्लब क्रिकेटलाई जोगाउने उद्देश्यले प्रतियोगिताको आयोजना भई रहेको बताए । क्रिकेटको मुख्य आधार क्लब क्रिकेट रहे पछि पछिल्लो केही बर्ष देखी यस्तो प्रतियोगिताहरु हुन नसकिरहेको जनाए ।

भैरहवामा राम्रो क्रिकेट मैदान, पर्याप्त होटल, अन्र्तराष्ट्रिय बिमानस्थल र रुपन्देही क्रिकेट संघको सहयोगले प्रतियोगितालाई भैरहवामै गर्न प्रेरित गरेको उनको भनाई थियो ।

काठमाडौंको जोहरा इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बंगलादेशका १–१ क्लब गरि जम्मा ८ टिम सहभागी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।