ताजा अपडेट »

बुटवलमा मनाइयो जाती तथा रंगभेद उन्मूलन दिवस

सोमबार, ०७ चैत्र २०७८, १८ : ४८
6 Shares

बुटवल । जातीय भेदभाव तथा छुवाछुत कायम रहेसम्म समुन्नत र न्यायपूर्ण बन्न नसक्ने अधिकारकर्मीहरुले बताएका छन् ।
५७ औं जाती तथा रंगभेद उन्मूलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही, जागरण मिडिया सेन्टर र राज्य टेलिभिजनद्राद्वारा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले छुवाछुत शान्ति, न्याय र सम्मुनत समाजको बाधक रहेको बताएका हुन् ।

शान्ति र सम्मुन्नतीका लागि सामाजिक न्यायको प्रत्याभूती बिषयक अन्तरसंवादलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले विभेद रहित समाजमा मात्रै शान्ति कायम हुने भएकाले मानव सभ्यताको कलंकको व्यवहारमै अन्त्य गर्नुपर्ने बताए । उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए । उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथी अपराध गरेको बताए । विभेद रहित समाज बनेमात्रै समाजमा शान्ति, समुन्नती र सामाजिक न्यायको प्रत्याभूती हुने सभापति खनालको भनाई छ ।

कार्यक्रममा अधिवक्ता पदम कार्कीले कानुनी रुपमा नेपाल विभेद रहित देशका रुपमा चिनिएपनि व्यवहारिक रुपमा विभेद अन्त्य नहुनु मानवताकै लागि लज्जित बिषय भएको बताए । उनले बुटवललाई २०५८ सालमै छुवाछुतमुक्त नगरका रुपमा घोषणा गरिएपनि विभेद अन्त्य नभएकाले अब मानवताको सुन्दर बुटवल बनाउने संकल्प गर्ने दिन आएको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जातका आधारमा गरिने विभेदलाई संवेदशिल मुद्धाका रुपमा लिएको बताउँदै विभेद गर्नेलाई उमुक्ती नहुने बताए । उनले आफू रुकुम पश्चिममा हुँदा पनि नवराज विक सहितका ६ जनाको मृत्यूको घटनामा संवेदशिल मुद्दाका रुपमा अघि बढाएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्धालाई नेपालका सञ्चारमाध्यमको प्राथमिकतामा राख्ने गरेको बताए । उनले जातीय भेदभाव अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउदा धेरै हदसम्म समस्या समाधान हुने बताए ।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले जातीय विभेद अन्त्यका लागि हिन्दुधर्मको संस्कारमा परिवर्तन र राजनीतिक दलहरुले नेपालको समस्याका रुपमा दस्तावेजमा स्विकार गुर्नपर्ने बताए । उनले नेपाली समाज वर्गिय नभएर जातका आधारमा विभाजित भएकाले दलित समुदाय आर्थिक रुपमा सम्पन्न भएर पनि अछुतका रुपमा रहनुपरेको बताए ।

लेखक तथा साहित्यकार ऋषि आजादले जातीय भेदभाव अन्त्यका लागि गैरदलित समुदायले नै पहल गर्नुपर्ने बताए । उनले आफूले केहि दिनअघि जानेर वा नजानेर गरेको छुवाछुतको प्रायश्चित गरेको स्मरण गर्दै विभेद अन्त्यका लागि कम्तीमा आफूबाट सुरुवात गर्न सुझाव दिए ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष दलित अधिकारकर्मी पदम विश्वकर्माले कानुनी रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य भएपनि व्यवहार अन्त्य नहुँदा यसले सामाजिक रुपमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि, दलित महिला संघ रुपन्देहीका अध्यक्ष मनु खड्का, अधिकारकर्मी सरोज गौतम, पत्रकार कपिल ज्ञवाली, अभियान्ता प्रकाश भट्टराई, कान्ति परियार लगायतले बोल्दै विभेद रहित समाज निर्माणमा सरकारका निकायहरु गैरजिम्मेवार भएको बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापती डिपि खनालको अध्यक्षता, राज्य टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु भुसालको स्वागत तथा पत्रकार विनोद परियारको सञ्चालनमा भएको थियो ।

रंगभेद उन्मूलन दिवस प्रत्येक वर्ष मार्च २१ तारिखकका दिन विश्वभर मनाउने गरिन्छ । नेपालमा दलित समुदायले भने छुवाछुत अन्त्य हुन नसकेको भन्दै खबरदारीका रुपमा दिवस मनाउने गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।