ताजा अपडेट »

प्यूठानमा २ महिनाअघि गाडिएको शवलाई उत्खनन् गरी अनुसन्धान सुरु, एक महिला पक्राउ

विहीबार, ०१ चैत्र २०८०, १९ : ३०
420 Shares

बुटवल । प्यूठानमा शव गाडेको करिब २ महिनापछि उत्खनन् गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्लाको नौबहिनी गाउँपालिका–८ साउनीफेदीका घने पुन मगरलाई मृत भेटेपछि स्थानीयले गत माघ ३ गते खाल्टो खनेर पुरेका थिए ।

मृतकका श्रीमती चोपीना पुनले सामान्य मृत्यु नभई कुटपिटबाट श्रीमानको हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । परिवारको जाहेरीको आधारमा फागुन २९ गते शव उत्खनन् गरी पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको छ भने आरोपित ४० वर्षीया चन्द्रा घर्तीमगरलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार नौबहिनी गाउँपालिका–८ साउनीफेदीका घने पुन माघे संक्रान्ति मान्नका लागि माघ २ गते साँझ सोही गाउँपालिका वडा नम्बर ७ खाम्रीबासमा रहेका मामा केसमान घर्तीको घरमा गएका थिए । माघी मान्न मामाघर गएका उनी भोलिपल्ट माघ ३ गते सोही ठाउँ नजिकैको खरयान बारीमा मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै मृतकका घरपरिवार आफन्तले घटनाको बारेमा प्रहरीलाई जानकारी नगराई  भिरबाट लडी मृत्यु भएको भन्ने ठानी खाल्डो खनि गाडेका थिए ।

उक्त घटना भएको २ महिनापछि मृतककी श्रीमती चोपीनाले फागुन २९ गते प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । नौबहिनी गाउँपालिका–५ जुम्रीकाँडाकी ४० वर्षीया चन्द्रा घर्तीमगरले लौरोले कुटपिट गरेको छ र कुटपिटपछि घर फर्किने क्रममा श्रीमानको बाटोमै मृत्यु भएको भन्दै जाहेरी परेको थियो ।  

जाहेरीपछि प्रहरीले शव उत्खनन् गरी अनुसन्धान अघि बढाएको हो । आरोपित चन्द्रा घर्तीमगरमाथि जिल्ला अदालत प्युठानबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।