बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको विषयमा कानुनी प्रक्रिया अघि बढाउने भएको छ ।
प्रहरीले अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुन अनुसार अगाडि बढ्ने बताएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आफुले आज मात्रै जानकारी पाएको बताए ।
आज विदा रहेकाले पक्राउ पुर्जी जारी भएका व्यक्ति सांसद पन्थी भए नभएको एकीन गर्न नपाएको र भोलि अदालतबाट एकीन गरेर भए मंगलबार नै पक्राउ गरिने प्रवक्ता कार्कीले ग्लोबल आवाजलाई बताए । ‘यो विषयमा हामीले आज मात्रै जानकारी पाएका छौँ । आज विदा भएकाले एकीन गर्न नपाएकाले आज पक्राउ नगरिएको हो । भोलि अदालतसँग एकीन पक्राउ गछौँ । अदालतको पालना गर्नु प्रहरीको कर्तव्य पनि हो’, उनले भने ।
बुटवलको लक्ष्मीनगर घर भएका पन्थीले कपिलवस्तु प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट एमालेको टिकटबाट चुनाव जितेका थिए ।
पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेको थियो । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिन भनेको थियो । त्यसपछि २०८१ साउन ६ गते काठमाडौं प्रहरी परिसरले पन्थी रुपन्देही जिल्ला प्रहरी कार्यालयको मातहत बस्ने गरेको भन्दै उनीहरुलाई फेला पारेमा जिल्ला अदालत मोरङमै पठाइदिन भनेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोही पत्रमा इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाउन तोक आदेश गरेको थियो ।
यसरी प्रदेश सभा सदस्य पन्थीलाई पक्राउ गर्ने सम्बन्धी पत्र पछिल्लो एक वर्षमा प्रहरी युनिटमा घुमिरहेको छ । तर पन्थीसम्म प्रहरी पुगेको छैन ।
आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा पनि उनी उपस्थित भएका थिए ।
यसैबीच पन्थीले आफू विरुद्ध मुद्दा परेको र पक्राउ पुर्जी जारी भएको विषय आफूलाई थाहा नभएको सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया