नवलपुर । बुटवल-नारायणगढ सडक अन्तरगत चोरमारामा पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
रामार्गको पुल भासिएका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी वलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए । पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहान प्राविधिकहरुले परीक्षण गरेपछि मात्र सवारी आवागमनबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकेर होङ्सी सिमेन्ट कम्पनीबाट बिरगञ्जतर्फ जाँदैगरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएपछि यातायात अवरुद्ध भएको हो ।
पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ । प्रहरीले ओभरलोड ट्रक पुलको बिचमा अड्किएको जनाएको छ ।
पुल भासिएपछि यात्रुहरू अलपत्र परेका छन भने सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया