ताजा अपडेट »

गृहमन्त्रीले सुन तस्करी प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्री र आईजीपीसँग गरे छुट्टा-छुट्टै बैठक

विहीबार, ०१ चैत्र २०८०, १९ : ०३
90 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्राप्त गरेसँगै प्रधानमन्त्री र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सँग छलफल गरेका छन् । आयोगले आज विहिबार बिहान प्रतिवेदन बुझाएको थियो ।  

गृहमन्त्रीले कार्यकक्षमा ढोका थुनेर प्रतिवेदन एक्लै अध्ययन गरेका थिए। अध्ययन गरिसकेर बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ब्रिफ’ गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबार आइपुगेका मन्त्री लामिछानेले तुरुन्त आईजीपी वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर गोप्य बैठक गरेका थिए ।

मन्त्री लामिछानेले सुन तस्करीविरुद्ध कारबाही अघि बढाउन निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए ।

भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए। प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ। साथै, निर्दोष देखिएका व्यक्तिको नामावलीसहितको प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको उनले बताए।

विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनेको थियो। आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए। तत्कालिन प्रतिपक्ष दल नेकपा एमालेले राजनीतिक नेतृत्वलाई जोगाइएको भन्दै दबाब सिर्जना गरेपछि सरकारले आयोग गठन गरेको थियो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।