ताजा अपडेट »

पाल्पामा ज्याला माग्दा सार्की भन्दै जनप्रतिनिधिले कुटे मजदुर

सोमबार, ०४ कार्तिक २०७६, १५ : ४१
6 Shares

कात्तिक ४,

पाल्पा । पाल्पामा जनप्रतिनिधिले एक मजदुरलाई कुटपिट गरेका छन्। तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेका हुन्। उनले आइतबार बिहान नेपालीलाई कुटेका थिए। नेपालीको दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको पनि छ। अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ। वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताए। उनले आफूलाई मुक्का र लात्तीले हानेको आरोप लगाए। गत माघ महिनामा १२ हजारमा घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच सम्झौता भएको थियो। नेपालीले समयमै काम सम्पन्न गरेका थिए। तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएको उनले गुनासो गरे।

आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थियो। आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएका छन्। कुटेको वडा सदस्य विष्टले स्वीकार गरेका छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पीडित नेपालीले आफू कुटिएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए। उनले भने पीडक भनिएका विष्टलाई कार्यालयमा ल्याएर घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्नेछौं। दोषीउपर कानुनबमोजिम कारबाही हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।