ताजा अपडेट »

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बुधबार, ०८ मंसिर २०७८, १३ : १७
4 Shares

बागलुङ । धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ । एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पताल विकास समितिको नाममा  पठाएको २८ लाख दुई हजार रुपैयाँले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्न नसकेपछि रकम फिर्ता भएको हो । उक्त रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजना थियो । बागलुङ अष्ट्रेलियन कमिटी सिड्नीले रकम पठाएको थियो । 

एम्बलुेन्स खरिद गर्न बजेट नपुगेपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले बताए । उनले बागलुङ अष्ट्रेलियन कमिटीका प्रतिनिधि तिलबहादुर विष्टलाई पठाए बराबरको रकम फिर्ता गरेका हुन् । फिर्ता भएको पैसा कमिटीको खातामा राख्ने विष्टले बताए । समितिको निर्णयअनुसार नै सो रकम खर्च हुनेछ । हाल अस्पताल विकास समिति पदाधिकारीविहीन छ । उक्त रकमले फोर ह्विल एम्बुलेन्स खरिद गर्न अपुग हुने र टु ह्विल एम्बुलेन्स खरिद गर्न नपाइने सरकारी नीतिका कारण समस्या भएको रानाले बताए । एम्बुलेन्स खरिद गर्न सरकारलाई रकम थपका लागि धेरैपटक आग्रह गर्दा पनि निकास नदिएको रानाको गुनासो छ ।

भन्सार छुटसहित फोर ह्विल एम्बुलेन्स खरिद गर्न २७ लाख रुपैयाँ अपुग थियो । उक्त एम्बुलेन्सलाई ५५ लाख रुपैयाँ पर्ने रानाको भनाइ छ । अस्पताल विकास समितिले किन्ने तयारी गरेको एम्बुलेन्सको बजार मूल्य ८० लाख थियो । भन्सार छुट गर्दा प्रवासीले पठाएको रकमले पुग्ने थियो।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीले बागलुङको हकमा विशेष निर्णय गरेर टु ह्विल एम्बुलेन्स खरिद गर्न दिने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा रकम फिर्ता गर्नुपर्ने बाध्यता भएको रानाले बताए । समितिले गत वैशाखदेखि एम्बुलेन्स खरिदका लागि सहयोग जुटाएका थियो । अस्पतालमा अहिले जिप प्रकृतिको पुरानो एम्बुलेन्स छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।