ताजा अपडेट »

निर्वाचनको चर्चासँगै कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्नेको लहर

सोमबार, १५ कार्तिक २०७८, १९ : १४
12 Shares

कपिलवस्तु । सरकार ढल्ने र गठन हुने प्रक्रियासँगै देशमा अर्ली इलेक्सन र स्थानीय निर्वाचनको चर्चा चल्न सुरु गरेको छ । निर्वाचन कहिले हुने भन्ने टुंगो नलागे पनि कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्न उत्साह छाएको छ । नामावली दर्ताका लागि दैनिक सयभन्दा धेरै जनता आउने गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम पन्थीले बताए । 

कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्र नौ हजार ६७७ मतदाता थपिएका छन् । कार्यालयमा नामावली दर्ताका लागि महिलाको चहलपहलसमेत बढेको छ । सरकारले बाल पोषण अनुदानका लागि कपिलवस्तु जिल्ला छनोट गरेपछि मधेसी र मुस्लिम समुदायका महिलाले नागरिकता बनाउन चासो दिएका थिए । नागरिकता बनेसँगै उनीहरू मतदाता नामावलीमा दर्ताका लागि कार्यालयमा आउने गरेको बताइएको छ । 

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चालू आर्थिक वर्षमा चार हजार ४६८ महिला मतदाता थप भएका छन् । यसैगरी पाँच हजार २०९ पुरुष मतदाता थप भएका छन् । जिल्लाभर कुल मतदाताको संख्या तीन लाख ५० हजार ११४ रहेको छ, जसमध्ये एक लाख ५९ हजार ९३ महिला र एक लाख ९१ हजार १९ जना पुरुष छन् । 

जिल्लामा दुई जना तेस्रो लिंगीसमेत मतदाता नामावलीमा समावेश भएका छन् । हाल जिल्लामा निर्वाचन कार्यालयको अलावा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट समेत नामावली दर्ता भएको बताइएको छ । मतदाता नामावलीमा दर्ता गर्नेको संख्या बढे पनि दर्ता केन्द्रको संख्या कम हुँदा सेवाग्राहीलाई सास्ती भएको सामाजिक अभियन्ता शिवलाल यादवले बताए । -न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।