ताजा अपडेट »

न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

विहीबार, ११ कार्तिक २०७८, ०७ : ०५
2 Shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी रहेको छ ।


पछिल्लो समय प्रधानन्यायाधीश राणा सत्ता समकरणको राजनीतिक भागबन्डामा जोडिएको र न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै न्यायाधीशहरू इजलास बहिष्कार गर्ने चरणसम्म पुगेका छन् ।

न्यायाधीशहरूले सोमबारदेखि इजलास बहिष्कार गर्दा दैनिक २ सयभन्दा बढी मुद्दा प्रभावित भएको छ । प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने एक सूत्रीय माग अगाडि सारेर न्यायाधीशहरूले मुद्दा सुनुवाइ बहिष्कार गरेका हुन् । तर, प्रधानन्यायाधीश राणा न्यायाधीशहरूले राजीनामा माग्दैमा आफू राजीनामा नदिने अडानमा छन् ।

प्रधानन्यायाधीशकै कारण यता कानुन व्यवासायीहरूको छाता संगठन सर्वोच्चमा बहस गर्न जाने पक्षमा देखिँदैनन् । प्रधानन्यायाधीश राणा रहेसम्म अझै केही दिन बहस गर्न नजाने पक्षमा आफूहरू रहेको वरिष्ठ अधिवक्ता शम्भु थापाको भनाइ छ । प्रधानन्यायाधीश राजीनामा नदिने र न्यायाधीशहरू प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म इजलास बहिष्कार गर्ने अडानमा उभिएपछि सर्वोच्चमा सुनुवाइको पर्खाइमा रहेको मुद्दा प्रभावित बनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।