ताजा अपडेट »

फिफाको ‘द बेस्ट’ अवार्ड समारोह आज हुँदै

सोमबार, ०६ असोज २०७६, १५ : २३
4 Shares

असोज ६,
बुटवल । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने वार्षिक अवार्ड समारोह ‘द बेस्ट’ अन्तर्गत विभिन्न विधामा आज अवार्ड वितरण हुँदैछ । यसपटक सबैको नजर पुरुष फुटबलतर्फ अवार्ड कसले जित्छन् भन्नेमा हुनेछ । पुरुषतर्फ अवार्डका लागि युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र लिभरपुलका डच डिफेन्डर भर्जील भान डाइक प्रतिस्पर्धामा छन् । यसअघि आयोजित युरोपेली फुटबलको उत्कृष्ट खेलाडी अवार्डमा भान डाइकले रोनाल्डो र मेस्सीको चुनौती पन्छाएका थिए ।

भान डाइकले च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै नेदरल्यान्ड्सलाई यूईएफए नेसन्स लिगको फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रोनाल्डोले युभेन्टसलाई लिग जिताउँदा लिगका सर्वोत्कृष्ट खेलाडी बन्नुका साथै पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि दिलाउन कप्तानी प्रदर्शन गरे । मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए । यसैगरी महिलातर्फ ‘द बेस्ट’ अवार्डका लागि अमेरिकीद्वय मेगन रापीनो र एलेक्स मोर्गन तथा इंग्लिस खेलाडी लुसी ब्रोन्ज प्रतिस्पर्धा गर्दैछन् । रापीनो र मोर्गनले अमेरिकालाई विश्वकप उपाधि दिलाएका थिए । मोर्गनले भने विश्वकपमा सेमिफाइनल पुग्नुका साथै आफ्नो क्लब लियोनलाई लगातार चौथो युरोपेली उपाधि दिलाएकी थिइन् । प्रशिक्षकतर्फ इंग्लिस प्रिमियर लिगकै शत प्रतिशत प्रतिनिधित्व रहेको छ । अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटीका पेप गुआर्डीओला, लिभरपुलका योर्गेन क्लोप र टोटेनहम हट्स्परका माउरिसियो पोचेटिनो प्रतिस्पर्धामा छन् । महिलातर्फ अमेरिकाकी जिल एलिस, इंग्ल्यान्डका फिल नेभिल र नेदरल्यान्ड्सकी सारिना विग्मन मनोनयनमा छन् ।

उत्कृष्ट गोलरक्षकमा ब्राजिलका दुई गोलरक्षक छन् । लिभरपुलका एलिसन र म्यानचेस्टर सिटीका एडरसनसँगै बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगनले यस अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने हेड्भिग लिन्दाल, क्रिस्टिन एन्डलर र सारी भान भेनेन्दाल मनोनयनमा छन् । पुस्कास अवार्डको मनोनयनमा लिओनेल मेस्सीले रियल बेटिसविरुद्ध गरेको गोललाई जुआन क्विन्टेरो र ड्यानीएल ज्सोरीले चुनौती दिएका छन् । फिफाले सार्वजनिक मतदानबाट फ्यान अवार्ड पनि वितरण गर्नेछ । समारोहमै विश्वका उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा विश्व ११ पनि सार्वजनिक हुनेछ । इटालीको मिलानमा हुने अवार्ड समारोह नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।