ताजा अपडेट »

कृष्णनगरमा हैजा फैलिएको आशंका, एक रातमै ५० बढी बिरामी थपिए

बुधबार, २० असोज २०७८, ०९ : ०१
2 Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् ।

रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।

मंगलवार साँझ ६ बजे सम्म १२० जना शिवराज अस्पताल बहादुरञ्जमा भर्ना भएका थिए । भर्ना भएकामध्ये २० जनालाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवलतर्फ थप उपचारका लागि पठाइएको छ ।मंगलवार रातिदेखि बुधवार बिहानसम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ ।

जम्मा प्रभावितको संख्या एकिन हुन सकेको छैन । चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको ७, ८ र ९ वडाका सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।