ताजा अपडेट »

‘सहज र स्मार्ट सेवा’ दिँदै लाइसेन्स कार्यालय बुटवल

मंगलबार, १९ असोज २०७८, ११ : ०४
116 Shares

बुटवल । लुम्बिनी प्रदेशको तत्कालीन कृषि मन्त्रालयमा कार्यरत रहेका तेज नारायण यादव यतिबेला यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख छन् । उनी असोज १ गते कृषि मन्त्रालयबाट सरुवा भई आएका हुन् । उनी आएसंगै पहिलो कार्य भनेको नै परिक्षणकालीन स्मार्ट लाइसेन्स वितरण हो । उनको सरुवा हुने कुरासँगै काठमाडौँ रहेका साथीसँग बुझेर सवारी चालक अनुमति पत्र महाशाखा प्रमुखसँगको समन्वयमा यो सेवा देशभरमै पहिलो पटक लुम्बिनी प्रदेशबाट शुरु गरेको उनी बताउँछन्।

असोज ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले यो सेवाको सुरुवात गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले सुरुवात गरेको यो पहिलो महत्वपूर्ण कार्य भएको बताएका थिए ।सवारी चालक अनुमति पत्र प्राप्त गर्न प्रदेशका जनताले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले परीक्षणकालिन रुपमा सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेको बताउँदै मुख्यमन्त्री केसीले एक वर्ष भित्रमा सवारी चालक अनुमति पत्रका लागि आवेदन दिएका सबैले सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ अभ्यास
लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो ।२०४९ सालमा आएको सवारी ऐनमा १ वर्षसम्म परिक्षणकालिन अनुमति दिनु पर्ने ब्यवस्था रहेको छ ।

प्रदेश सरकारले परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेपछि यो ऐन बल्ल लागू भएको हो । लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले बुटवलबाट परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेको हो । नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि ट्रायल कटाएर राजश्व बुझाएको वर्षौ हुँदासम्म सेवाग्राहीको हातमा नपर्ने समस्या थियो । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको परिक्षणकालिन सवारी अनुमति पत्रले सेवाग्राहीलाई लाइसेन्स प्राप्तिमा सहज भएको छ ।

दैनिक १ हजार लाइसेन्स छाप्ने मेसिन
अहिले अनुमति पत्र छाप्ने एउटा मेसिन राखेर कार्यालयले सेवा दिइरहेको छ । सवारी ट्रायल कटाएर र राजश्व तिरको दिन नै १ वर्षसम्म परिक्षणकालिन अवधि रहेको लाइसेन्स कार्यालयले सेवाग्राहीलाई दिने गरेको यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख तेज नारायण यादवले जानकारी दिए । लाइसेन्स छाप्ने मेसिन १ लाख ६० हजारमा ल्याएको बताउँदै कार्यालय प्रमुख यादवले स्मार्ट कार्ड भन्दा सस्तो र सजिलो हुने बताए।

लुम्बिनी प्रदेश सरकारले यातायात ब्यवस्था, सवारी चालक अनुमति पत्र कार्यालय रहेको दाङ र नेपालगञ्जबाट पनि स्मार्ट परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरेको छ । सेवाग्राहीले पाउने समस्यालाई सामाधानको लागि परिक्षणकालिन लाईसेन्सको ब्यवस्था ल्याईएको जनाएको छ ।

यस्तो छ परिक्षणकालीन स्मार्ट सवारी अनुमति पत्र
यो अनुमति पत्र पनि स्मार्ट लाइसेन्स जस्तै देखिन्छ । स्मार्ट लाइसेन्समा चिप्स हुन्छ भने यसमा क्यूआर कोड राखिएको हुन्छ। अन्य बिवरणहरु भने स्मार्ट लाइसेन्सकै जस्तै छन् ।यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालय प्रमुख यादवले यो लाइसेन्स डुब्लिकेसन गर्न नमिल्ने बताए। यसमा प्रयोग भएको बार कोडलाई ट्राफिक प्रहरीले मेसिनको सहायताले सजिलै हेर्न सकिने भएकोले डुब्लिकेसन गर्न नमिल्ने दाबी गरे।

उनले ग्लोबल आवाजसँग कुराकानी गर्दै भने –‘यो लाइसेन्समा एउटा बारकोड छ, त्यसलाई ट्राफिक प्रहरिले सजिलै रिड गर्न सक्दछ, नक्कली बनाउने सम्भावना छैन। “ उनले अहिलेको स्मार्ट लाइसेन्समा भएको चिप्स रिड गर्ने मेसिन नभएपनि यो बार कोर्ड रिड गर्ने मेसिन आउदै गरेको जानकारी दिए। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरि कोर्ड रिडर मगाउने कार्यालय प्रमुख यादवले जानकारी दिए। आवस्यकता अनुसार मेसिन मगाइने उनले जानकारी दिए।

सेवाग्राही सन्तुष्ट
पाल्पाका बिजय आचार्यले मोटरसाइकलको ट्रायल कटाए। उनको दाईले पनि केही वर्ष पहिले मोटरसाइकलको ट्रायल कटाएपनि राजस्व तिरेको रसिद लिएर अझैसम्म हिडेका छन्। यस्तो अवस्था देखेका उनी राजस्व बुझाउन यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा आए र राजस्व बुझाए। उनी पनि त्यही रसिदलाई लेमिनेसन गरेर लाइसेन्सको रुपमा प्रयोग गर्ने मनशायमा थिए तर, राजस्व तिरेको रसिद थमाउँदै कर्मचारीले लाईसन्स लिएर जानू भने । उनी यो सबै सुन्दा अचम्मित थिए ।

स्मार्ट लाइसेन्स तुरुन्तै भन्ने कुरा उनको मनमा खेलिरह्यो। उनी लाइसेन्स लिने झ्यालमा पुगे त्यहाँ रसिद दिइसकेपछी स्मार्ट परिक्षणकालिन लाइसेन्स प्राप्त गरे। यो देख्दा उनी एकदमै खुसी छन्। पहिले ट्रायल कटाएर राजश्व तिरेको वर्षौंसम्म लाइसेन्स सेवाग्राहीको हातमा पर्दैनथ्यो । यसले गर्दा यातायात ब्यवस्था कार्यालयले दिएको राजश्व तिरेको रसिद लिएर सेवाग्राहीले सवारी चलाउनु पर्ने बाध्यता थियो । रसिदमा रहेको फोटो र नाम केही दिनमा हराएर जाँदा चेकिङ्ग गर्ने ट्राफिक प्रहरी र सेवाग्राहीलाई समस्या पर्दथ्यो ।

कार्यालयका थप नयाँ योजना
यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख यादबले कार्यालयलाई नमुना कार्यालयको रुपमा अगाडि बढाउन कामहरु अगाडि बढाएको बताएका छन्। कार्यालय भवन चुहिने अवस्थामा रहेको बताउँदै त्यसको मर्मतसंगै जनतालाई सहज हुनेगरि काम अगाडि बढाउने उनले बताए ।

अबको पहिलो काममा प्रिन्ट भएका स्मार्ट लाइसेन्सका हकवालाहरुलाई सम्पर्कमा बोलाएर बितरणको योजना रहेको उनी बताउँछन् । उनले अहिले कार्यालयमा रहेका करिब २५ हजार स्मार्ट लाइसेन्स होल्डरलाई फोन वा एसएमएसको माध्यमबाट जानकारी गराएर वितरण गरिने जनाए।

उनले कार्यालयलाई पेपरलेस बनाउन लागि परेको बताउँदै धेरैजसो कामको लागि कार्यालय बाहिर रहेका बिचौलियाले कागज बनाउने भन्दै सेवाग्राहीलाई लैजाने गरेको बताउँदै कार्यालयलाई पेपरलेस बनाउने कार्यमा लागि परेको बताए । उनले यसबाट फोटोकपी लगायतका अन्य कागज बनाउने भन्दै खर्च हुने रकम सेवाग्राहीको रोकिने छ ।

हप्ता–हप्तामा ट्रायल खुलाउने तयारी
कार्यालयले अहिले लाइसेन्स नभएका धेरै सर्वसाधारण रहेकोले हप्ताहप्तामा लाइसेन्स खुलाउने प्रबन्ध भईरहेको जनाएका छन् । उनले यसले लाइसेन्स बनाउनको लागि सहज हुने बताए । उनले बिचौलियालाई हजारौँ रुपैयाँ दिएर लाइसेन्स बनाइदिन्छु भनेपनि त्यो कुनैपनि हालतमा नहुने बताउँदै बिचौलियालाई दिने रकम ड्राइभिङ इन्स्टिच्यूटमा गएर सिकेमा आफँैमा ज्ञान हुने र यसले आफैलाई फाइदा हुने उनको भनाई छ ।

आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप