ताजा अपडेट »

तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक

सोमबार, ११ असोज २०७८, २० : ३९
4 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले तोकिएकै मितिमा कांग्रेसको १४औँ महाधिवेशन हुने बताएका छन् । रिपोर्टर्स क्बल नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले पार्टीको क्रियाशील सदस्यता विवाद क्रमशः टुङ्गिँदै गएकाले पार्टीको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका हुन् । “६९ जिल्लाका क्रियाशील सदस्यता विवाद टुङ्गिसकेको छ, बाँकी आठ जिल्लाको पनि चाँडै टुङ्ग्याएर दशैँ अगाडि नै ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न हुन्छ”, उनले भने । महाधिवेशन तयारी अगाडि बढिसकेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने उनको भनाइ छ ।

पूर्वमन्त्री लेखकले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वाभाविक भएको भन्दै अब एक/दुई दिनभित्र सरकारले पूर्णता पाउने बताए । “यो गठबन्धनको सरकार भएकाले राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको हो”, उनले भने ।

नेता लेखकले अघिल्लो निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिए पनि विशेष परिस्थितिमा कांग्रेस सरकार बनेको भन्दै १०० दिनसम्म कांग्रेस सरकारको बारेमा टीकाटिप्पणी गर्नु उचित नभएको बताए । कोभिड विरुद्धको लडाइँमा सरकारले प्रभावकारी काम गरेको उनको भनाइ थियो । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।