ताजा अपडेट »

लाफा समुहले असोजमा ‘बि’ लेभल भलिबल प्रतियोगिता गराउँदै

विहीबार, ३१ भदौ २०७८, ०८ : २७
8 Shares

बुटवल । लाफा समुहले असोजको दोस्रो हप्तादेखि पुरुष भलिबल प्रतियोगिता गराउने भएको छ । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै युवा खेलाडीलाई ब्यवसायिक बनाउन उद्देश्यका साथ समुहको आयोजनामा असोज १५ देखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो । 

बुधबार पत्रकार सम्मेलन गरि आयोजक समुहका अध्यक्ष तारा रेश्मी मगरले दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान निर्माण, टिम दर्ता लगायतका तयारी शुरु भएको बताए । प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरूको टिमको सहभागिता रहने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी द्वितीय टिमले नगद २० हजार, तृतीय टिमले नगद १० हजार रुपैयाँ तथा सान्त्वना टिमले नगद ५ हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । समुहले सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/ वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल कभर्डहल निर्माण, प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । 

प्रतियोगिता सञ्चालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए । लाफा समुहले सञ्चालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समुहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा मिल्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।