ताजा अपडेट »

नेपाल चीन सीमानामा बोर्डर आउट पोस्ट निर्माण ५० प्रतिशत सम्पन्न

शुक्रबार, २५ भदौ २०७८, १५ : २६

बेनी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । निर्माण थालिएको बिओपी निर्माण कार्य ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

नेपाल सरकारले २०७७ साल जेठमा मुस्ताङको उत्तरी कोरलाको नेचुङ भन्सार कार्यालयको क्वारेन्टिन भवनमा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरेको थियो । नेपाल र चीनको बोर्डर कोरलाको नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि सरकारले बीओपी बस्ने भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो । सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको पालामा मुस्ताङको नेचुङमा बीओपी स्थापना भएको थियो । नेपाल सरकारबाट भवन निर्माणका लागि ६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सरकारबाट बजेट प्राप्त भएपछि सशस्त्र प्रहरीले भवन निर्माणका लागि आवश्यक प्रक्रिया पुरा गरेर ठेक्का सम्झौता गरेको थियो ।

समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको नेचुङमा बाह्रै महिना सशस्त्र प्रहरी बलका जवान बस्न सक्ने मौसम अनुकूलित दुई तलाको ५५ कोठे भौतिक संरचनाको निर्माण सुरु गरिएको हो । वातवरण अनुकूलित भवन निर्माण गरी बीओपीको जवान बस्ने सक्ने पूर्वाधार निर्माणका लागि राज्यको पोलिसि अनुरूपकै भवन निर्माणको चरणमा अहिले रहेको छ । बीओपी भवन निर्माणका लागि नापी कन्ट्रक्सनलाई ठेक्का परको थियो । हिमपात, लकडाउन र बाढी–पहिरोले सडक अवरुद्ध हुँदा संरचना निर्माणको काम सोचे जस्तो छिटो हुन नसकेको भए पनि सम्झौता अनुसारकै समयमा निर्माण सम्पन्न गर्ने नापी कन्स्ट्रक्सनका ज्ञानेश महर्जनले बताए ।

कन्स्ट्रक्सनका महर्जन अनुसार सडक अवरुद्धले निर्माण सामाग्री ढुवानी गर्न समस्या भएको हुँदा तोकिए अनुरूप काम हुन नसके पनि करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनका साथै सीमा सुरक्षाको हेतुले नेचुङमा बीओपी स्थापना गरिएपछि सशस्त्र प्रहरी बलको टोलीले नेपाल चीन सिमास्तभको १८ देखि ३३ नम्बरसम्मको सीमा स्तम्भको अनुगमन गर्ने गरेको छ । उत्तरी सीमा नेचुङमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अहिले टोली खटिएको छ । हाल नेचुङ भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरीको टोली बसेको छ ।

मुस्ताङको उत्तरी कोरला नाका खोल्ने दीर्घकालीन लक्ष्य अनुसार २०७४ सालमा उपल्लो मुस्ताङमा भन्सार, अध्यागमन, सुरक्षा निकाय लगायत सरकारी कार्यालय निर्माणका लागि जग्गा प्राप्ति गरी सकिएको छ । लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी, नेपाल प्रहरीलाई १३ रोपनी, अध्यागमनलाई १२ रोपनी, भन्सार कार्यालयलाई १ सय ९ रोपनी र नेपाली सेनालाई १ हजार २ सय ७१ रोपनी गरी कुल १ हजार ४ सय ३६ रोपनी जग्गा ५ सरकारी कार्यालयलाई उपलब्ध गराइएको थियो ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।