ताजा अपडेट »

हरितालिका तीज बारे यस्ता छन् पौराणिक प्रसंग

विहीबार, २४ भदौ २०७८, ०७ : ०८
12 Shares

काठमाडौँ । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । 

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् ।

त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । 

तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् । 

श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो । 

गणेश चौथी 

तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । 

ऋषिपञ्चमी 

तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । ऋषि पञ्चमीका विषयमा

यस्तो किंवदन्ती पनि प्रचलित छ : 

विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् । 

खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् । मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई टाढा पुर्याएको अनुभव हुन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गर्न सक्छौं ।

यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।