ताजा अपडेट »

बुटवलको फोहोर व्यवस्थापनमा लापरवाही, स्वास्थ्यमा खेलाँची

मंगलबार, २२ भदौ २०७८, १२ : १९
61 Shares

करिब २ हफ्तादेखि बुटवल उपमहानगरका विभिन्न स्थानबाट फोहोर उठेको छैन । लामो समयसम्म फोहोर नउठेपछि स्थानीयले फोहोरका थुप्रोका तस्वीरसहित जानकारी, गुनासो र आक्रोश व्यक्त गरेका छन् । दुई हफ्तादेखि उपमहानगरको फोहोर नउठ्दा शहर दुर्गन्धित भएको छ । उपमहानगरले फोहर उठाउन छाडेपछि सडक तथा बजारहरुमा फोहर थुप्रिएका छन् । दैनिक ५३ टन बढी फोहर उत्पादन हुने उपमहानगरको फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीयहरुले खुला ठाउँ, खोला तथा नहरमा फोहर फाल्न थालेका छन् । स्थानीयले घर अगाडि र चोकमा जम्मा गरेको फोहोर नउठ्दा स्थानीय तथा यात्रुहरुले समेत मुख थुनेर हिड्नु पर्ने अवस्था आएको छ ।

पटक–पटक उत्कृष्ट नगरपालिका भन्दै पुरस्कृत हुँदै आएको बुटवल उपमहागरपालिका पछिल्लो समयमा बढीनै आलोचित भएको छ । फोहोर व्यवस्थापन नहुँदा झनै आलोचित भएको छ । विशेषगरी बुटवलका खाल्डै–खाल्डा भएको सडकका कारण चौतर्फी आलोचना, विरोध खेप्दै आएको उपमहानगरलाई फोहोर थप समस्या बनेको छ । बुटवललाई हरित शहर, डिजिटल शहर, नमूना विकासको शहरसँगै स्वस्थ र समृद्धि शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको बुटवल एकपछि अर्को क्षेत्रमा चुक्दै गएको छ । सडकको खाल्डा–खाल्डीको विषयमा सडक डिभिजन र माथिका तहको जिम्मेवारी भन्दै स्पष्टीकरण दिएको नगर फोहोर व्यवस्थापनमा भने अहिले निरिह देखिएको छ ।

बुटवल–११ स्थित हात्तीसुँड र बिनापाते क्षेत्रको बस्ती छेउलाई डम्पिङ साइड बनाउँदै आएको उपहानगरले स्थानीय विरोधपछि फोहोर उठाउन छाडेको हो । उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर फोहोर फाल्दै हात्तीसुँड र बिनापातेका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै विरोध गरेका छन् । फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले रोक लगाएका हुन् । बस्ती छेउलाई डम्पिङ साइट बनाएको उपहानगरले स्थानीय विरोधपछि फोहोर उठाउन छाडेको हो । उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर फोहोर फाल्दै हात्तीसुड र विनापातेका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै विरोध गरेका छन् । फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले रोक लगाएका हुन् ।

सुरुमा हरेक दिन जम्मा हुने फोहोरलाई ४ इन्च मिस्कट वा माटोले पुरेर दुर्गन्ध हुन नदिने, स्थानीयले माग गरे अनुसार नदी तटबन्ध, सडक, विद्युत, पानीलगायत विकासका पूर्वाधार दिने सहमति गरेर फोहोर फाल्न सुुरु गरे पनि उपमहानगरले सहमति पालना गरेको भन्दै स्थानीयले रोक लगाएका हुन् । डम्पिङ साइडमा मरेका जनावरदेखि कुहिने र नकुहिने सबैखाले फोहोर ल्याएर फालिन्छ । हात्तीसुँड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित भएका छन्। उपमहानगरले फोहोर व्यवस्थापनका लागि पहिलेनै पहल गरेको हो । सोही अनुसार सो क्षेत्रलाई डम्पिङ साइट बनाएको हो । तर, बढ्दो जनसंख्या, उद्योग, व्यवसाय, व्यापार लगाएतका कारण फोहोरको मात्रा वृद्धि हुँदै गएतापनि उचित व्यवस्थापनमा भने ढिलासुस्ती भएको छ । नगरले फोहोरको दिगो व्यवस्थापनमा तदारुकता नदेखाउँदा हाल बुटवलमा कैंयौं दिनदेखिको फोहोरको थुप्रा छन।

बुटवलको फोहोर व्यवस्थापनका लागि बुटवल र देवदहको सीमा क्षेत्र बुटवलको शिवनगर सामुदायिक वनमा पर्ने भनभने खोचमा बनाउने भनिएको फोहेर मैला प्रशोधन केन्द्र आयोजना सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसँग सम्झौता भए पनि काम नै अगाडि बढ्न नसकी फिर्ता भएको थियो । २५ करोड ६२ लाख रुपैयांको एकीकृत फोहरमैला प्रशोधन केन्द्र परियोजना उपमहानगरपालिकाले ठाउँको व्यवस्थापन र स्थानीयलाई सहमतिमा ल्याउन नसक्दा फिर्ता भइसकेको छ । उपमहानगर र राजनीतिक दलहरुबीच उचित समन्वय र समझदारी हुन नसक्दा एडीबीका तीनवटै परियोजना गुमेका हुन् ।

उक्त योजनामा असफल बुटवल फोहोर व्यवस्थापनको लागि अर्को योजनाका लागि बुटवल र सैनामैना नगरपालिकाको सीमा क्षेत्रमा ठाउँको पहिचान गरेको उपमहानगरले बताएको छ । डेढ वर्षभित्र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान हुने गरी योजना ल्याएको बताएपनि कार्यान्वयनमा भने ढिलासुस्ती र शंकानै छ । दैनिक ५० भन्दा बढी टन फोहोर उत्पादन हुने शहरमा वृहत र उचित डम्पिङ साइट नहुनु विडम्बना हो । आफूलाई अब्बल, समृद्ध, विकसित र स्वच्छ शहर मान्ने, पटक–पटक सम्मानित भएको उपमहानगर फोहोर जस्तो मानवीय स्वास्थ्यलाई प्रभावित पार्ने तत्वको व्यवस्थापनमा कमजोर छ ।

मानवीय स्वास्थ्य र जीवनसँग प्रतक्ष्य सरोकार राख्ने फोहोरलाई व्यवस्थापन नगर्दा शहर र्दुगन्धित मात्रै होइन, स्वास्थ्य समस्या आउन सक्छ । महामारी फैलन सक्छ । शहरको सभ्यतासँगै स्वच्छता बिग्रिन्छ । अर्कोतर्फ उपमहानगरले स्थानीयको फोहोर निःशुल्क उठाउने पनि होइन, फोहोर उठाएवापत नगरबासीबाट अग्रिम शुल्क पनि लिन्छ । अग्रिम शुल्क लिने तर, फोहोर नउठाउने सेवाग्राहीको हिसाबले पनि स्थानीबासी मर्कामा परे यो उपभोक्ता अधिकार विपरित पनि हो । ठूला–ठूला पार्क,ताल लगाएतको योजना बनाउने, करोडौंका परियोजना ल्याउने, अपेक्षित भन्दा धेरै राजश्व उठाउने उपमहानगर फोहोर व्यवस्थापनमा असफल वा लापरवाही ? कारण जे होस् यो उपमहानगरको असक्षमता हो, बेवास्ता हो, नगरवासीको स्वास्थ्यमा खेलाँची हो । तसर्थ यसतर्फ समयमा नै ध्यानसहित समाधान होस् । लामो समयदेखिको फोहोर, उठोस्, निरन्तर होस्, उतिच व्यवस्थापन होस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।