ताजा अपडेट »

नागरिकता अध्यादेशको विषयमा सर्वोच्चले गैरसंवैधानिक फैसला लियो - पूर्वमन्त्री त्रिपाठी

आइतबार, २० भदौ २०७८, ०७ : ४५
8 Shares

परासी। स्वतन्त्र राजनीतिक समूहका राष्ट्रिय संयोजक एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता अध्यादेशको विषयमा सर्वोच्च अदालतले गैरसंवैधानिक फैसला गरेको बताएका छन् । संविधानमै उल्लेखित व्यवस्था भन्दा बाहिर गएर अदालतले फैसला गरेको उनको दाबी थियो ।

स्वतन्त्र राजनीतिक समूहले आज पश्चिम नवलपरासीको बेलाटारीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री त्रिपाठीले आफू ओलि सरकारमा रहँदा नागरिकताको समस्या समाधानका लागि पहल गरेको तर सर्वोच्चले लगाम लगाएको जिकिर गरे ।संविधानमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरेको र अध्यादेशमा पनि सोही विषय रहेकोमा अदालतले रोकेर गैरसंवैधानिक फैसला गरेको बताए ।

नेता त्रिपाठीले दल विभाजन र दलहरुबीचको तिक्ततापूर्ण सम्बन्धले संविधान नै समाप्त हुने खतरा बढेको बताए ।उनले असोज पहिलो साता आफ्नो नेतृत्वमा नयाँ दल दर्ता हुने जानकारी दिए । कांग्रेसले आफ्नो महाधिवेशन पछि संसद विघटन गर्ने उनको दाबी थियोे । वैशाख जेठमा तीनै तहको निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए । पालिकामा करोडौं रुपैयाँ फ्रिज भईरहेको भन्दै उनले त्यसतर्फ खबरदारी गर्न पनि जोड दिए ।

उक्त समूहका क्षेत्रीय संयोजक रामपृत यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समूहका जिल्ला संयोजक राधेरमण पाण्डे, नगेन्द्र बढइ,प्रेमचन्द्र गुप्ता, रामवतार कोईरी लगायतले बोलेका थिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल