ताजा अपडेट »

ओभरलोड गर्ने भारतीय गाडीलाई नेपालमा छुट, जिम्मेवार निकायद्वारा एक अर्कामा दोषारोपण

मंगलबार, २६ साउन २०७८, १६ : ३१
8 Shares

भैरहवा । अहिले बेलहिया नाकामा ३४ बढी मालवाहक भारतीय गाडी पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले रोकेको छ । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीले सिमा नाकामै भारतीय ट्रक रोकेका छन् ।

देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिएको कारण कानुन सबैकोलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग समेत गरेका छन् ।भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोर मापदण्ड हटाउदै नियन्त्रण गर्न माग गरेका छन् । पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुषालले भारतीय ओभरलोड ट्रकका कारण आफुहरु बेरोजगार हुने मात्र नभई नेपालका पुल पुलेसा र बाटोघाटोमा समेत असर पुगेको बताउछन् ।

ओभरलोडका कारण बेलहिया–बुटवल व्यापारिक मार्ग भत्किन गई पटक पटक मरम्मत हुर्द आएको छ । यस्तै निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भैरहवा–तौलिहवा सडक पनि ओभरलोडकै कारण भत्किन थालेको छ । ओभरलोड कसले नियन्त्रण गर्ने भन्ने नै अन्यौलमा रहेको छ । ट्राफिक प्रहरीले भन्सार कार्यालयले नै भारमिलान गरि मापदण्ड अनुसारको तौल भएको गाडीको मात्र जाचपास गरिदिनु भन्ने ब्यवस्था रहेको बताउछन । यता भन्सारले यसको सम्पूर्ण जिम्मा ट्राफिक रहेको बताउदै आएको छ ।

माववाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् । नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।

यसअघि औद्योगिक कच्चा पदार्थ बाहेकका समान ओभरलोड भएमा पल्टी गराउने र औद्योगिक कच्चा पदार्थ बाहेकका गाडीलाई ट्राफिक प्रहरीले कार्यवाही स्वरुप जरीवाना लिदै आएको थियो । तर, जतिसुकै ओभरलोड भएपनि भारतीय गाडीको ओभलोडलाई छुट दिइएको छ ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका निमित्त प्रमुख दामोदर मल्लले भारवाहन मिलान भन्सारले नै गर्नुपर्ने दावी गर्छन । २०७१ सालमा भौतिक पूर्वाधारमा भएको निर्णय अनुसार भारमिलान गर्न सक्नेलाई भन्सारले नै मिलान गरेर पठाउनु पर्ने उनको भनाई छ । ट्राफिकले गर्न सक्ने भनेको जरिवाना मात्र रहेको र प्रहरीले त्यो गरि रहेको उनले बताए ।यता भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तिर्थराज पासवानले आर्थिक ऐन र भन्सार ऐनले ओभरलोड भन्सारले हेर्नुपर्ने भनेर कतै उल्लेख नगरेको कारण यो प्रहरीले नै हेर्नुपर्ने तर्क गर्छन।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा