ताजा अपडेट »

बहुमुखी सहकारीद्वारा भैरहवामा टनेल खेती

आइतबार, १७ साउन २०७८, ०७ : ३७
4 Shares

भैरहवा । नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले टनेल खेती सुरु गरेको छ । यस अघि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले निर्माण गरेको टनेलमा उन्नत टमाटर खेतीको सुरुवात गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सरकारी अनुदानको सदुपयोग गर्नु पर्ने धारणा बताए । उनले अहिले पनि अन्तर्राािष्ट्रय गैर सरकारी संस्थाहरुले मागेको कागजात किसानले पूरा गर्न नसकेको कारण कागजात मिलाएर अनुदान खानेहरु बढेको बताए । मेयर अधिकारीले नगरपालिकाको सम्पत्तिको रुपमा रहेको सहकारी मार्फतको सामुहिक खेती सराहनीय रहेको बताए । उनले योजना र काम गर्ने जाँगर भए नगरपालिका आफै वा सम्बन्धित निकायसँग सहकार्य गरेर भए पनि कृषिमा लगानी गरिने जनाए ।

सहकारीले सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा करिब ४ बिगाहा जग्गा १० वर्षको लागि भाडामा लिई तरकारी खेती सुरु गरेको थियो । त्यस जग्गामा अहिले सहकारीले टनेल निर्माण गरि मौसमी एवम् बेमौसमी तरकारी खेती गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले गोनहियामा २ वटा आधुनिक टनेल निर्माण गरि आधुनिक तरकारी खेती सुरु गरेको छ ।

सहकारीका अध्यक्ष शिवहरि अधिकारीका अनुसार ११ लाख २८ हजार लागत अनुमान गरिएको उक्त प्रविधिको लागि जीआईजेडले ६ लाख ७१ हजार रुपैया प्रदान गरेको थियो । जसमध्ये टनेल निर्माणमा मात्र ६ लाख ९५ हजार खर्च भएको अधिकारीको भनाई छ । ४ लाख ५७ हजार रुपैया सहकारीले लगानी गरि त्यस सम्बन्धि आवश्यक प्राविधिक तालिम, बिउबिजन, औजार लगायतको सामग्री खरिद गरिने उनले जानकारी दिए ।

‘टनेल’ लाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ । यिनको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुने गरेको सहकारीका कृषि समिति संयोजक बाबुराम भट्टराईले जानकारी दिए ।

तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, आल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोगमा लागेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।