ताजा अपडेट »

महाकाली नदीको बहाव घट्दै, खतरा कायमै

शनिबार, ०५ असार २०७८, १६ : ०६
2 Shares

दार्चुला । महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ । शुक्रबार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिबार बिहानदेखि घट्दै गएको हो ।

सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४.२ मा झरेको छ । गएराति १० बजे सो स्थानमा पानीको बहाव ४.५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदीछेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनकोे भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए ।

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको छ ।

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । 

शुक्रबार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तडबन्ध माथि नदी पुगेको थियो । महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए । 

रासस
लेखकको बारेमा
रासस