ताजा अपडेट »

अन्तिम साससम्म पानी पनि नपाई प्रदेशमा ज्यान गुमाए

शनिबार, १८ बैशाख २०७८, २० : ३८
6 Shares

गुल्मी । जन्मेपछि एक दिन मृत्यु स्वभाविक ठानिन्छ । तर, कोरोना संक्रमणबाट वा आशंकामा बिरामी परेर मृत्यु हुने कतिपय मानिसहरुको मृत्यु अत्यन्तै अस्वभाविक र हृदयविदारक हुने गरेको भारतमा मृत्यु भएका एक जना गुल्मेली युवाको मृत्युले पनि स्पष्ट पारेको छ । ती हुन् गुल्मीको इस्मा गाउँपालिका –१ साविक हस्तीचौर गाविस उजुङ्ग गाउँका ३४ वर्षिय राज भनेर चिनिने युवराज नेपाली । जसले भारतमा एक साता अगाडि अन्तिम साससम्म पानी…,पानी … भनेर चिच्चाएर माग्दा पनि एक मुठी पानी दिने मान्छे कोही नभएर तड्पिएर भारतामा ज्यान गुमाए ।

भारतको नयाँदिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज करिब १५ दिन अघि सात दिनसम्म ज्वरोले सिकिस्त परेर कोठामा सुतेका थिए । उनले अस्पतालमा गएर जचाएको रिर्पोट साथी भाइलाई देखाएनन । उनले रिर्पोट नदेखाएपछि कोठामासँगै बस्ने साथीहरुले उनमा कोरोनो संक्रमणको शंका गरेर त्यहाँ बस्नै छाडेर अन्यत्रै बसे । उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । खान माग्दा कतिपयले टाढैबाट ढोकामा रोटी फालि दिने गरेको र अक्सिजन नपाई तडपिएर मृत्यु भएको गुल्मीको मरभुङ्ग स्थित उनका जेठान खड्क नेपाली बताउँछन् । शुक्रवार हामी उनको घर उजुङ्ग पुग्दा उनका कान्छा बाबु र उनकी २८ वर्षीया श्रीमती आठौ दिनको काज किरियाको कुनोमा बसीरहेका थिए । १० वर्षीया छोरी र ६ ६ वर्षीया छोरीसँगै सेतो पहिरनमा बसेकी सिर्जना भन्दै थिइन् मृत्यु हुनको केहि समय अघि मैले यहाँबाट फोन गर्दा एक आखर ‘हई ’ भन्नुभयो त्यसपछि बोलाचाल भन्द भयो ।

उनले भनिन–‘ बैशाखमा घर आएपछि क्वारेन्टाईनमा बस्नु भयो । त्यसपछि आमा बिरामी पर्नु भयो । पाल्पा लगायतका अस्पतालमा लगेर उपचार गर्दा लाखौं खर्च भयो । तर आमाको मृत्यु भयो । त्यस पछि घर बनाईयो । झण्डै ५ ÷ ६ लाख ऋण छ । दोकानमा राशन खाएको उधारो थियो । गएर पठाउँछु भन्नु भएको थियो । गएको एक डेढ महिनामा ऋण काढेर ७० हजार रुपैयाँ पठाउनु भएको पनि थियो । ससुरा बुवा हुनुहुन्न । अब यो घर ऋण र छोरा–छोरी पालन पोषण भारी मेरै काँधमा हुने भयो । खै कसरी चलाउने हो ।’ श्रीमती सिर्जना भन्छिन्,‘ पछि रिपोर्ट नेगेटिभ देखियो रे । टाइफाइडको उपचार बेलैमा नपाउँदा उहाँको ज्यान गयो । तर, कोरोना लागेको आशंकामा नजिकका मान्छे पनि टाढा भए भन्ने सुनिन्छ । जब उहाँ पल्लो डिउ भएपछि भने केही आफन्तले हेरबिचार गरे भन्ने सुन्छु ।’

उनले १६ वर्षको उमेरदेखि नै श्रीमान भारतमा गएर नोकरी गरेको र आफू पनि केहि वर्षसम्म भारत मै बसेर फर्किएर घर सम्हाल्न फर्किएको बताइन् । दिल्लीमै रहेकी त्यस उजुङ्ग गाउँकी भारती सुनारसँग हामीले त्यहीबाट टेलिफोनमा सम्पर्क राख्दा उनले राजले कसैलाई केहि नभनेका कारण कोठा मै तड्पिएर ८ दिन अघिको शुक्रवार मृत्यु भएको बताइन् । ईस्मा गाउँपालिका –१ का वडाध्यक्ष चुराबहादुर खत्रीले उनको भारतमा मृत्यु भएपछि परिवारजनको बिचल्ली भएकोले आफूले ब्यक्तिगत रुपमा ११ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम घोषणा गर्दै अरु सबैसँग सहयोगको अपिल गरे ।

सूर्ती,चूरोट,जाँड रक्सी कहिल्लै सेवन नगर्ने राज त्यस गाउँको होनहार युवा भएको भन्दै ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट , उनका भाई पूर्वमन्त्री गोकर्ण बिष्ट घर मै पुगेर सोकाकुल परिवारलाई सन्त्वना दिएका थिए । गत वर्ष कोरोनाबाट बच्न घर फर्किएका राज आमाको उपचार पछि ऋण तिर्ने सपना बोकेर ५ महिना अघि फेरी भारत गएर अल्पआयुमै ज्यान गुमाए । अन्तिमा प्रहरमा श्रीमतीसँंग केहि बेर बोल्न पनि नसकी तड्पिँदै ज्यान गुमाए । उनका जेठान उनको दर्दनाक मृत्युको खबर र दृश्यहरु तस्वीरमा हेरेर यस्तो हृदयविदारक मृत्यु कुनै नेपालीले भोग्न नपरोस् भनेर कामना गर्छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।